बलात्कारमा मिलापत्र गराउनु ठूलो अपराध ः गृहमन्त्री बादल

काठमाडौं, १२ असोज
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बलात्कारका घटनामा मेलमिलाप गराउनेलाई कारबाही गर्न निर्देशन दिइसकेको बताउनुभएको छ । पञ्चायती बस्ने र बलात्कारको घटनामा मेलमिलाप गराउनेलाई मतियारको रुपमा पक्राउ गरी कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको उहाँले बताउनुभयो ।
बलात्कारका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै सोमबार गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको अखिल नेपाल महिला संघ (अनेमसंघ)का प्रतिनिधिमण्डल र बझाङ जिल्लाका जनप्रतिनिधिसँगको संयुक्त भेटमा गृहमन्त्री बादलले बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराउनु ठूलो अपराध भएको टिप्पणी गर्नुभयो ।
उहाँले यस्तो मिलापत्र गराउनेलाई कारवाहीको सुनिश्चितता विद्यमान कानुनले गरेको बताउँदै आवश्यक परे थप कडा कारबाहीको प्रावधान राख्न कानुन संसोधन गरिने बताउनुभयो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पछिल्ला दिनमा भएका बलत्कारका घटनामा संलग्न अधिकांश आरोपीहरु प्रहरीले पकाउ गरिसकेको भन्दै मिलापत्र गराउने कार्यमा संलग्नमाथि पनि कारवाही अघि बढेको जानकारी दिनुभयो ।
ज्ञापनपत्र बुझाउँदै अखिल नेपाल महिला संघ (अनेमसंघ)की संयोजक अमृता थापाले पछिल्ला दिनहरूमा महिला हिंसा र बलात्कारका घटना बढेको भन्दै त्यस्ता घटनामा संलग्नलाई कारबाही, पीडितको उपचार, सुरक्षा र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग राख्नुभयो ।

Advertisment