नेकपा, कास्कीले टुंग्यायो जिल्ला सचिवालय र स्थानीय तहको एकता

पोखरा, २० फागुन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा), कास्कीले जिल्ला कार्यालय, सचिवालय र स्थानीय तहको एकता टुंग्याएको छ ।
मंगलबार बसेको जिल्ला कमिटीको आठौं पूर्ण बैठकले सात सदस्यीय जिल्ला कार्यालय टुंग्याएको छ । त्यसैगरी, ५१ सदस्यीय जिल्ला सचिवालय समेत टुंग्याएको नेकपा, कास्कीका सचिव बखानसिंह गुरुङ ‘आभास’ले जानकारी दिनुभयो ।
त्यस्तै, बैठकले स्थानीय तहका अध्यक्ष र सचिवसहित सदस्यहरूको नाम समेत टुंग्याएर पार्टीको गण्डकी प्रदेश कमिटीसमक्ष अनुमोदनका लागि सिफारिस गर्ने निर्णय गरेको छ । नेकपाको प्रदेश कमिटीमा सिफारिस भएसँगै रुपा गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, मादी गाउँपालिका र माछापुच्छ«े गाउँपालिकाले एकीकृत पार्टीको नेतृत्व पाउने भएका छन् । प्रदेश कमिटीले अनुमोदन गरेपछि स्थानीय तहका नेतृत्वले आधिकारिकता पाउनेछन् ।
बैठकमा प्रशिक्षणसहितको मन्तव्य दिँदै गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता अध्ययनशील हुनुपर्नेमा जोड दिनुभयो । कम्युनिष्ट आन्दोलनलाई अतिवादबाट बचाएर अघि बढाउनुपर्ने आवश्यकता रहेको भन्दै मुख्यमन्त्री गुरुङले नेकपा नेतृत्वको सरकारले समाजवादको आधार पार्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेकपा, कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको बैठकमा नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सह–इञ्चार्ज खगराज अधिकारी, केन्द्रीय सदस्य एवं कास्की जिल्ला इञ्चार्ज राजकाजी गुरुङ ‘करण’ र केन्द्रीय सदस्य एवं कास्की जिल्ला सह–इञ्चार्ज चुडामणि जंगलीले समसामयिक विषयमा प्रशिक्षण र आवश्यक निर्देशन दिनुभएको थियो ।

Advertisment