–डा. मीन श्रीस मगर (minshrisphd@gmail.com)
पाल्पाली सेन राजवंशको इतिहासमा पार्कोटे मगर राजाको प्रसंग जोडिएर आएको देखिन्छ ।तर, पार्कोटे मगर राजा र उनको राज्यका वारेमा जानकारी दिने आधिकारिक लिखित प्रमाणहरूको भने अभाव रहेको छ । इतिहासकारहरूले पार्कोटे मगर राजालाई पाल्पाका शक्तिशाली राजा मुकुन्द सेनको ससुराका रुपमा चर्चा गरेको पाइन्छ । त्यसैकारण सेन राजाहरूको चर्चा हुँदा पार्कोटे मगर राजाको पनि उल्लेख हुने गरेको छ । नेपालको इतिहासमा पाल्पाली सेन राजवंशको वास्तवमै विशिष्ट भूमिका रहेको पाइन्छ । गोर्खाली राजा पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरूले वाइसी–चौवीसी राज्यहरू माथि विजय प्राप्त गर्दै नेपालको सिमाना पूर्वमा टिष्टा र पश्चिम किल्ला काँगडासम्म पुऱयाउँदा समेत पाल्पाको सेन राज्य स्वतन्त्र अस्तित्वमा रहेको थियो । काठमाडौं दरबारले पाल्पाली राज्यलाई सजिलै एकीकरण गर्न नसक्ने देखेपछि षडयन्त्रको जाल बुन्न थाल्यो । रणबहादुर शाहले आफ्नो नाबालक छोरा गिर्वाणयुद्धविक्रमलाई राजगद्दीमा राख्ने अवसर पारेर सन् १७९७ मा पाल्पाली राजालाई काठमाडौं बोलाई नजरवन्दमा राखे । सन् १८०३ मा नजरवन्द मुक्त भई पाल्पा फर्के पनि केही दिनपछि उनकी वहिनीसँग रणबहादुर शाहले विवाह गर्ने निहुँ गरी पुनः काठमाडौं बोलाइयो । पाल्पाली राजा पृथ्वीपाल सेन सोझो हिसाबले चार सय सेना सहित काठमाडौं गए । सैनिकहरूलाई निसस्त्र बनाई उनलाई पुनः नजरवन्द गरियो र सन् १८०४ मा उनको हत्या गरी अमरसिंह थापालाई पाल्पाको प्रशासकको रुपमा खटाएर पाल्पा एकीकरण गरियो । रानी र छोरा रत्न सेन भागेर मधुवनी पुगे । रानीको त्यहीँ मृत्यु भएपछि रत्नसेन गोरखपुर आएर बसे । इष्टइण्डिया कम्पनीले उनको लागि सामान्य पेन्सनको व्यवस्था गरी उनको तराईको केही भागको हेरचाह अंग्रेज कमिशनरबाट भयो । पृथ्वीपाल सेनको हत्यापछि पाल्पा राज्य र त्यस मातहतका रजवाडाहरू नेपालमा गाभिनु नै नेपाल–अंग्रेज युद्धको तत्कालिक कारण बन्नगयो । भारतका अधिकांश राजारजौटाहरूलाई आफ्नो अधीनमा लिइसकेको साम्राज्यवादी बृटिश सरकारको भोटसँग व्यापार बढाउने चाहनालाई पूर्वमा टिष्टादेखि पश्चिममा सतलजसम्म फैलिएको र थप फैलिदै गइरहेको नेपालको सीमानाले अवरोध सिर्जना गरेको थियो । त्यसकारण इष्ट इण्डिया कम्पनी सरकारले अनेकौं स्थानमा सीमा विवाद झिकेर युद्धका लागि निहुँ खोज्न शुरु गऱयो । अंग्रेजले तत्कालीन पाल्पा राज्यको बुटवल र स्यूराज (वर्तमान कपिलवस्तु जिल्लाको महाराजगंज क्षेत्र) २५ दिनभित्र नछोडे बलपूर्वक कब्जा गर्ने चेतावनी सहितको पत्र पठाएपछि प्रधानमन्त्री भीमसेन थापाले युद्ध गर्ने निर्णयमा पुगे । गोरखपुरमा रहेको अंग्रेज फौजका मेजर जनरल उडको नेतृत्वमा वि. सं. १८७१ (सन् १८१५ जनवरी ३) मा आएको २१ कम्पनी फौजसँग भएको युद्धमा बुटवलको जीतगढी, स्यूराज लगायतको युद्ध स्थलबाट अंग्रेज फौज पराजीत भएर भाग्नु पऱयो (शर्मा, २०३३: २०३–२०४ र २५५–२५६) । नेपाल–अंग्रेज युद्ध (सन् १८१४–१६) मा नेपालको जीत बुटवल–स्यूराज क्षेत्रमा मात्र भएको थियो । त्यही एक मात्र विजयको परिणाम स्वरुप आज हामीले विश्व शान्तिका अग्रदूत महामानव बुद्धको जन्मस्थल लुम्विनी र कपिलवस्तुलाई हाम्रो भनेर गर्व गर्ने अवसर पाएका छौं ।
पार्कोटे मगर राजाको इतिहास कोट्ट्याउनका लागि पाल्पा राज्यको सामान्य जानकारी आवश्यक भएकाले उपर्युक्त विषय–वस्तुमा संक्षिप्त चर्चा गरिएको हो । यति शक्तिशाली पाल्पा राज्यका राजा मुकुन्द सेनका ससुराली राज्य पार्कोट कहाँ थियो त भन्ने सन्दर्भमा इतिहासमा स्पष्ट उल्लेख नपाइए पनि सामान्य चर्चा भने पाइन्छ । काशीराम काश्यपद्वारा अठारौं शताब्दीमा लिखित गण्डकी महात्म्यमा पार्कोट बारेमा संक्षिप्त चर्चा गरिएको छ । ज्ञानमणि नेपालको ‘नेपाल निरुक्त’ मा उल्लेख गरिएअनुसार पार नामक राजाले शासन गर्दा बनाएको कोट–किल्लाको कारण त्रिशुली र गण्डकी वीचको क्षेत्र पारकोट कहलाएको थियो (सौरभ, २०७६: ग) । प्राज्ञ जगमान गुरुङका अनुसार कालीगण्डकी र त्रिशुली बीचको भूभागलाई आज पनि पारकोटटार भनिन्छ (गुरुङ, २०६१: १०६) । इतिहासविद् योगी नरहरिनाथ (२०३६) का अनुसार त्रिशुलीगण्डकी, बुडीगण्डकी, धर्मावतीगण्डकी, चम्पावतीगण्डकी, मात्स्येन्द्रीगण्डकी, शुक्लागण्डकी र कृष्णगण्डकी सात सप्तगण्डकी प्रदेशको नाम पारकोट पनि प्रसिद्ध छ । पारकोटका वस्तु सबै पार्कोटे प्रभृति पदले पुकारिन्छन् । पाल्पाली सेनहरूको वंशावलीमा पार्कोटे मगर राजाका भानिज (पार्कोटे मगर राजकुमारी सुवर्णमालाका छोरा) रुपनारायण इत्यादि महाराजधिराज श्रीविश्वम्भरसेनदेव भएको उल्लेख गरिएको छ (पृ. ७) ।