मगर समुदाय आर्थिक रुपमा समृद्ध हुनुपर्छ ः सांसद् रोकामगर

गलकोट, १७ फागुन
गण्डकी प्रदेशसभाकी सदस्य दिलमाया रोकामगर ‘दीपा’ले मगर समुदायलाई आर्थिक रुपमा समृद्ध बनाउनुपर्ने सुझाव दिनुभएको छ ।
नेपाल मगर संघ, गलकोट नगर समिति, बागलुङले ३८ औं मगर दिवस तथा नेपालका प्रथम शहीद लखन थापामगरको १४३ औं स्मृति दिवसका अवसरमा गलकोट नगरपालिका–११, रिघामा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै सांसद् रोकामगरले विकास र परिवर्तनको चेतले मात्रै समृद्धि हासिल गर्न सकिने उल्लेख गर्नुभयो ।
परनिर्भरता त्यागेर आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्ने बताउँदै उहाँले उत्पादनमा जोडिएर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । अहिलेको अवस्थामा नैतिक संस्कार र शिक्षाको खाँचो औंल्याउँदै सांसद् रोकामगरले आफ्नो अधिकार मागेर मात्रै नपाइने बताउनुभयो । मगर समुदायलगायत देशका सबै जाति र समुदायको न्यायसहितको समृद्धिले मात्रै देशलाई समृद्ध बनाउन सकिने धारणा राख्दै उहाँले त्यसका लागि समानता आवश्यक रहेको बताउनुभयो ।
नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरले मगर समुदायको पहिचानका रुपमा रहेका भाषा, संस्कृति र भेषभूषा लोप हुँदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्दै मातृभाषाको संरक्षणमा विशेष जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । मगर भाषामा पठनपाठन र सरकारी कामकाजको आवश्यकता रहेको भन्दै उहाँले संविधानले नेपालमा बोलिने भाषाहरूको संरक्षण र प्रयोगको अधिकार दिएपनि राज्यले त्यति चासो नदिएको बताउनुभयो ।
गलकोट नगरपालिका वडा नं. १०, पाण्डवखानीका वडाध्यक्ष तिलक घर्तीमगरले मगर जातिको एकताले मात्रै अधिकार प्राप्ति सम्भव हुने भन्दै दलगत रुपमा विभाजित हुन नहुने बताउनुभयो । त्यस्तै, वडा नं. ११ का वडाध्यक्ष डम्बर श्रीसमगरले गलकोटका मगर समुदायलाई जागरुक र सचेत बनाउनुपर्ने आवश्यकता औंल्याउँदै लोप भएको मगर भाषा उत्थानका लागि विशेष योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा नेपाल मगर बुद्ध सेवा समाज, गण्डकी प्रदेश समितिका सदस्य ललित श्रीसमगर, जिल्ला भलिबल संघ, बागलुङका अध्यक्ष याम श्रीसमगर, भुजेल सेवा समाजका केन्द्रीय सदस्य गंगाबहादुर भुजेल, रत्न राज्यलक्ष्मी मावि, रिघाका प्रधानाध्यापक तुलबहादुर श्रीसमगरलगायतले हरेक क्षेत्रमा मगर समुदायलाई अघि बढाउन सशक्तिकरणको खाँचो औंल्याउनुभएको थियो ।
नेपाल मगर संघ, गलकोट नगर समितिकी अध्यक्ष विष्णु रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कौशीला घर्तीमगर र सचिव योगेश भण्डारीमगरले पनि बोल्नुभएको थियो । कार्यक्रममा गलकोट क्षेत्रबाट सरकारी सेवामा प्रवेश गरेका मगर कर्मचारी एवं स्थायी शिक्षकहरू र ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । त्यस्तै, गीतसंगीतमार्फत् गलकोट क्षेत्रको प्रवद्र्धनमा विशेष योगदान दिएको भन्दै लोक तथा दोहोरी गायिका निशा श्रीसमगरलाई सम्मान गरिएको थियो ।

Advertisment