भ्रष्टाचार समाप्त पार्न सम्पत्ति मोह त्यागौं ः प्रदेश प्रमुख शेरचन

पोखरा, २८ माघ
गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले भ्रष्टाचार समाप्त पार्न सम्पत्ति मोह त्याग्नुपर्नेमा जोड दिनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औं वार्षिकोत्सवका अवसरमा मंगलबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले सम्पत्ति मोहको अन्त्य नभएसम्म भ्रष्टाचारको अन्त्य हुन नसक्ने भनाइ राख्नुभयो । भ्रष्टाचार अन्त्यका लागि कडा कानूनी प्रबन्धका साथै, जनचेतना जगाउनु जरुरी रहेको भन्दै उहाँले जनतालाई सचेत बनाउन सके भ्रष्टाचार आफैं कमजोर भएर जाने उल्लेख गर्नुभयो ।
भ्रष्टाचारका कारण देश कंगाल बन्दै जाने र व्यक्ति अर्बपति बन्दै जाने अवस्था आएको भन्दै प्रदेश प्रमुख शेरचनले भ्रष्टाचारले जनतालाई सेकेण्ड सेकेण्डमा मारिरहेको बताउनुभयो । कसैले गल्ती गरेको छ भने पदीय हैसियत हेरेर कसैलाई पनि उन्मुक्ति दिन नहुने भन्दै उहाँले आफू शुद्ध र निष्कलंकित भए अख्तियारसँग डराउनु नपर्ने भनाइ व्यक्त गर्नुभयो । देशको सबैभन्दा ठूलो दुश्मन भ्रष्टाचार भएको भन्दै प्रदेश प्रमुख शेरचनले राज्यबाट जनताको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी हुने अवस्था आए भ्रष्टाचार कमजोर बन्दै जाने धारणा व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेश सरकारका प्रमुख सचिव हरिप्रसाद बस्यालले भ्रष्टाचार नियन्त्रण र सुशासन कायमका लागि सबै सचेत हुनुपर्ने धारणा राख्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले गण्डकी प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेशका रुपमा स्थापित गर्न जोड दिनुपर्ने बताउनुभयो ।

 

Advertisment