पर्यटकका लागि नेपाल सुरक्षित गन्तव्य ः प्रदेश प्रमुख शेरचन

पोखरा, २१ माघ
नेपाल पर्वतारोहण संघको आयोजनामा मंगलबारदेखि पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा तेस्रो विश्व शान्ति पूजा सुरु भएको छ ।
पूजाको मंगलबार बिहान उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले देशमा शान्ति स्थापना गर्न यसप्रकारको पूजाले मानिसमा धेरै सकरात्मक भावनाको विकास गर्ने भन्दै सबैको आपसी मित्रताले नै देशमा शान्ति कायम हुने बताउनुभयो ।
पूजाले नेपाल भ्रमण वर्षलाई समेत सफल पार्न ठूलो सहयोग गर्ने भन्दै अहिले कोरोना भाइरसले नेपालमा पर्यटकको संख्यामा कमी आएता पनि नेपाल यसको जोखिमबाट मुक्त रहेकोले नेपाल पर्यटकको लागि सुरक्षित गन्तव्य रहेको सन्देश संसारभर दिन जरुरी रहेको बताउनुभयो ।
विश्वमा शान्ति स्थायी रुपमा स्थापित गर्ने, नेपालमा स्थापित धार्मिक सहिष्णुतालाई प्रचारप्रसार गर्ने, धार्मिक पर्यटनलाई नेपालको पर्यटनको गतिविधिको रुपमा स्थापित गर्ने, अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले घोषणा गरेको लुम्बिनी विश्व शान्ति निग्राम कार्यान्वयन गर्न, बुद्ध नेपालमा जन्मिएको भन्ने तथ्यलाई स्थापित गर्न, नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको प्रचार प्रसार गर्ने तथा पदयात्रामा जाँदा विभिन्न कारणले मृत्यु भएका पर्यटक तथा पथप्रदर्शकहरूको आत्मा शान्तिको कामना गर्न पूजा आयोजना गरिएको आयोजकले जनाएको छ ।
पूजा समापनको दिन भोली संग्रहालयको १७ औं स्थापना दिवस समेत सोही समारोहमा केक काटेर मनाउने नेपाल पर्वतारोहण संघका केन्द्रीय अध्यक्ष सन्तवीर लामाले जानकारी दिनुभयो । पूजाको उद्घाटन अघि निस्किएको शान्ति ¥यालीले पोखराको विभिन्न भाग परिक्रमा गरेको थियो । नेपाल पर्वतारोहण संघका सचिव टिकाराम गुरुङले सञ्चालन गर्नुभएको थियो ।

Advertisment