अंग्रेजी नयाँ वर्षमा बेलायतमा ‘छ माया छपक्कै’

लण्डन, ३० मंसिर
चलचित्र प्रदर्शनमार्फत् उठेको रकम सामाजिक सेवामा खर्च गर्ने उद्देश्यसहित बेलायतमा नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शन गरिने भएको छ ।
बेलायतस्थित नेप्लिज इन्टरटेनमेन्टको आयोजनामा हुने प्रदर्शनबाट बेलायतबासी नेपालीहरूले पनि हेर्न पाउने भएका हुन् । अंग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर आगामी जनवरी ५ तारिखका दिन अल्डरसटको एम्पायर हलमा दिउँसो साढे ३ बजेदेखि चलचित्र प्रदर्शन गरिने आयोजकले बताएका छन् । त्यसैगरी, बेलायतका अन्य विभिन्न स्थानहरूमा पनि चलचित्रको प्रदर्शनी गरिने भएको छ ।
दीपेन्द्र लामाद्वारा निर्देशित उक्त चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जीतु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतको अभिनय रहेको छ । नेपाली राजनीति र राजनैतिक दलको सेरोफेरोलाई आधार मानेर चलचित्रको विषयवस्तुलाई समेटिएको छ । नेपालमा चलचित्र व्यवसाय धरापमा पर्दै गइरहेको बेला चलचित्र ‘छ माया छपक्कै’ले राम्रो व्यापार गर्न सफल भएको छ ।

Advertisment