गृहमन्त्री बादल र इराकका राजदूतबीच भेटवार्ता

काठमाडौँ, १९ मंसिर
गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि इराकका नवनियुक्त गैरआवासीय राजदूत डा. फलाह अब्लुल्हसन अब्दुलसदाले बिहीबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल–इराक द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री बादलले राजदूत डा. अब्दुलसदालाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिँदै उहाँको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले इराकमा ठूलो संख्यामा रोजगारीका लागि नेपालीहरू पुगेको बताउँदै त्यहाँ रहेको नेपालीको सुरक्षामा विशेष ध्यान दिन राजदूत डा. अब्दुलसदासँग आग्रह गर्नुभयो । नेपालले भ्रमण वर्ष २०२० मनाउन गइरहेको सन्दर्भमा इराकबाट थप पर्यटकहरुको आगमनका लागि वातावरण बनाइदिन राजदूतसँग गृहमन्त्री बादलले आग्रह गर्नुभयो ।
राजदूत डा. अब्दुलसदाले इराकमा रहेका नेपालीहरूको सुरक्षामा आफुहरु गम्भिर रहेको बताउँदै इराकको विकासमा नेपालीहरुको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो । उहाँले आतकंवाद अहिले विश्वको साझा समस्या रहेको भन्दै आतकंवाद विरुद्ध आफूहरूको लडाइँमा नेपालको समेत साथ रहने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भारतमा वर्षेनी ८० हजार इराकी पर्यटकको रुपमा आउने गरेको तथ्यांक प्रस्तुत गर्दै नेपालले इराकीलाई प्रवेशाज्ञा प्रक्रिया खुकुलो बनाए नेपाल भ्रमण वर्षमा ठूलो संख्यामा इराकी नेपालमा भ्रमण गर्ने बताउनुभयो । जवाफमा गृहमन्त्री बादलले इराकीहरूका लागि प्रवेशाज्ञा प्रक्रिया खुकुलो बनाउन आफूले तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Advertisment