नेकपाको चुनावी सभा, सरकार फेरिने हो कि भन्ने चिन्ता सकियो ः प्रचण्ड

पोखरा, ११ मंसिर
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले सरकार फेरिने हो कि भन्ने चिन्ता अब सकिएको बताउनुभएको छ । नेकपा, कास्कीले बुधबार पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो बताउनुभएको हो ।
पहिलाको भन्दा भारी अन्तरले विद्या भट्टराईलाई जिताउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले हामी जसरी एकजुट भएका छौं, त्यसमा अब कुनै राजनीतिक अन्यौल रहन दिँदैनौं, सरकार फेरीने होकि भन्ने विषयलाई पनि टुंगो लगायौं ।” अब सवै विकास निर्माण र समृद्धिको महान अभियानको यात्रामा अघि बढ्ने बताउनुभयो । कास्की आफ्नो जन्मथलो भएको नाताले प्राज्ञिक व्यक्तित्व भट्टराईलाई जिताउन कस्केलीसँग पुनः आग्रह गर्नुभएको हो । आफूलाई विजयी यात्रामा निम्तो गर्न समेत आग्रह गर्नुभयो ।
नेकपाका केन्द्रीय सचिवालय सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले कास्की–२, उपनिर्वाचन प्रतिनिधिसभा सदस्यकोे उम्मेदवारको रुपमा विद्या भट्टराईलाई आफूहरूले उहाँको योग्यता र क्षमताको आधारमा उठाएको बताउँदै उहाँलाई जिताएको खण्डमा मन्त्रीसम्म बनाउने आश्वास दिनुभएको छ । उहाँले भन्नुभयो, “अब हाम्रो तागतलाई कसैले हल्लाउन सक्दैन, पोखरेली जनताहरुले पोखराको आर्थिक विकास र समृद्धिका लागि आवश्यक योजना पेश गर्न आग्रह गर्छु, मेरो तर्फबाट सबै जसो योजना सफल पार्न म लाग्छु ।” राम्रा योजना सफल पार्न आफ्नो सम्पूर्ण सक्त्ति नै परिचालन गर्ने नेता गौतमले दाबी गर्नुभयो । रवीन्द्र अधिकारीको प्रशंसा गर्दै नेता गौतमले स्थानीय र पाइलटले समेत भनेको नमानी जबरजस्ती हेलिकोप्टर उडान गर्दा देशले एउटा असल नेता गुमाएको जनाउनुभयो । रवीन्द्रका सपना पूरा गर्न रवीन्द्रसँग २० औं वर्ष बिताएकी पार्टीमा लामो समयसम्म सघर्ष गरेकी प्राज्ञिक व्यक्तिलाई आफूहरूले उम्मेदवारको रुपमा अघि सारेको जनाउनुभयो । पार्टीको केन्द्रीय कमिटीमा ४ सय ४१ जनामध्ये महिला सहभागिता करिब १९ प्रतिशत मात्र रहेको उल्लेख गर्दै नेता गौतमले भट्टराई जस्ता महिला आवश्यक भएको बताउनुभयो । आगामी महाधिवेशनमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता पुराउने गरी महिलाहरुलाई समेत समेट्ने भएको उहाँले जनाउनुभयो । उहाँले भन्नुभयो, “हामीले जनता सामु ५ वर्षमा जे जे काम गर्ने भनेर वचन दिएका थियौं, अबको बाँकी करिब ३ बर्षमा कुनै पनि हालतमा पूरा गर्नुपर्ने छ अन्यथा दुई तिहाइ भएको ठूलो पार्टीले ठूलो धक्का व्यहोर्नुपर्ने छ ।”
गाउँमा छरिएर बसेका जनतालाई एकीकृत गरी एकीकृत बस्ती बसाली, केही बर्ष भित्र सुकुम्वासि समस्या समाधान गर्ने उहाँले दाबी गर्नुभयो । आगामी एक दशकमा नेपालमा गरीबिको अन्त्य हुने दाबी गरेका नेता गौतमले २५ बर्षमा विकसित मुलुकको स्तरमा पु¥याउने लक्ष्य राखेको जनाउनुभयो । रविन्द्र अधिकारीलाई प्रशिक्षण गराएको भट्टराईलाई पार्टी प्रबेस गराउँदा पहल गरेको पं्रशङग उठाउदै नेता गौतमले भट्टराईलाई अत्याधिक बहुमतले जिताएको खण्डमा मन्त्रीसम्म बनाउन पहल गर्ने उद्घोष गर्नुभएको हो । पार्टी भित्र आफ्नो वोली विक्ने दाबी गरेका उहाँले विकास निर्माणको योजना आफ्नो हातमा समेत दिएको खण्डमा उचित विकास योजना ग्यारेन्टीका साथ पुरा गर्न आफू लाग्ने जनाउनुभयो ।
नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सह—इञ्चार्ज खगराज अधिकारीले नेकपाको पार्टीलाई अब संसारको कुनै पनि शक्तिले हल्लाउन नसक्ने दाबी गर्दै निर्वाचनको मुखमा बम र बारुद पट्काउनेहरुको हिसाव किताव गरिने जनाउनुभयो । मंसिर १५ मा सवैको हिसाव किताव हुने दाबी गर्दै सहइञ्चार्ज अधिकारीले अबको मौन अबधि ४८ घण्टा पहरेदारको रुपमा बस्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।
कास्की–२, उपनिर्वाचन प्रतिनिधि सभा सदस्य नेकपाका उम्मेदवार विद्या भट्टराईले रवीन्द्र अधिकारीको अन्तिम श्रद्धाञ्जली दिएको पोखरा प्रदर्शनी स्थलबाट आज आफु उम्मेदवार भएर जनतासँग मत माग्दा आफू निकै भावुक हुन पुगेको बताउँदै पोखराको विकास र पोखराको पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पहल गर्ने जनाउनुभयो । कार्यक्रममा भावुक भएकी भट्टराईले पोखरा रंगशाला निर्माण पोखरा विमानस्थल निर्माण, सामाजिक न्यायका लागि डटेर लड्ने कटिबद्धता व्यक्त गर्नुभएको छ । भट्टराईले आफू समृद्ध नेपाल, सुखी नेपालीको संवाहक बन्ने प्रतिबद्धता समेत गर्नुभयो ।
नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षता तथा सचिव बखानसिंह गुरुङ “आभास”को सञ्चालनमा सम्पन्न भएको चुनावी सभामा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको मनकुमार श्रेष्ठले बताउनुभयो ।

 

Advertisment