१६ औं लेखनाथ महोत्सव पुस ३ गतेदेखि, महोत्सवमा राखिने ६० प्रतिशत स्टल बुकिङ

पोखरा, ११ मंसिर
समग्र गण्डकी प्रदेशकै आर्थिक, समाजिक तथा शैक्षिक विकासमा सहयोग पु¥याउने उद्देश्यले पौष ३ गते देखि सञ्चालन हुने १६ औं सस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र रुपमा अगाडि बढेको छ ।
“महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि” भन्ने नारालाई सार्थक रुप दिनका लागि आयोजना गरिएको महोत्सवका बारेमा जानकारी दिने उद्देश्यले बुधबार राखिएको पत्रकार सम्मेलनमा तयारी तीव्र रुपमा अगाडी वढेको र अहिले सम्म महोत्सवमा राखिने तीन सय ३६ स्टलमध्ये ६० प्रतिशत स्टलहरू बुकिङ भइसकेको जानकारी गराइएको हो ।
दैनिक जसो राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुती रहने महोत्सवमा बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, स्थानीय उत्पादन तथा कृषि प्रदर्शनी, हस्तकला, मेशिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी र फुड फेस्टिबलका स्टलहरू रहने प्रचार प्रसार उपसमितिका संयोजक उपेन्द्रराज सुवेदी “राजु”ले जानकारी गराउनुभएको थियो ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजना तथा विभिन्न संघ संस्थाहरुको सहयोग र सहभागितामा हुन लागेको महोत्सवमा करिब दुई लाख ५० हजार दर्शक र १२ देखि १५ करोड बरावरको आर्थिक कारोबार हुन सक्ने अनुमान आयोजकहरुले गरेका छन् ।
महोत्सवमा करिब एक करोड ३० लाख आम्दानी भई एक करोड १० लाख खर्च हुने अनुमान गरिएको छ भने बचत हुन आएको रकमबाट प्रदर्शनी स्थलको स्तरोन्नति, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायतका सामाजिक कार्यमा खर्च गरिने बताइएको छ ।
महोत्सवलाई व्यवस्थित र प्रभावकारी तरिकाले सञ्चालन गर्नका लागि आठ सदस्यीय निर्देशक समिति, २७ सदस्यीय सल्लाहकार समिति, विभिन्न उप समिति र कार्यसम्पादन समिति गठन गरि तयारीलाई अगाडि बढाइएको छ ।
लेखनाथको तालचोकमा सञ्चालन हुने महोत्सवले विशेषगरी, औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजारीकरण, सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभूषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना गर्ने उद्देश्य राखेको छ ।
त्यसैगरी, महोत्सवले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षण गर्दै नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई पनि सफल बनाउन सहयोग पु¥याउने लक्ष्य राखेको छ ।
आयोजक सस्था लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य प्रयोजक एड्भान्स ग्रुपको एड्भान्स सिमेन्टका बिक्री प्रतिनिधि राजेन्द्र ओझा, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका प्रमुख काशीराम भण्डारीलगायतले महोत्सवलाई सफल पार्न सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने सुझाव राखेका थिए ।
संघका महासचिव गोपीचन्द्र बाँस्तोलाले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले गर्नुभएको थियो ।

Advertisment