लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौं महाधिवेशन भोलीदेखि पोखरामा

पोखरा, ५ मंसिर
शुक्रबारदेखि पोखरामा सुरु हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं केन्द्रीय महाधिवेशनको तयारी पूरा भएको छ ।
महाधिवेशन मूल आयोजक समितिले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी तयारी पूरा भएको जनाएको हो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने महाधिवेशनको उद्घाटनसत्र पूर्व चिप्लेढुंगाबाट सांस्कृतिक झाँकीसहितको ¥याली सुरु हुने प्रतिष्ठानका केन्द्रीय अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक बद्री पंगेनीले जानकारी दिनुभयो ।
महाधिवेशनमा ५८ जिल्ला र ८ वटा विदेश शाखा तथा उपत्यकासहित ८ प्रदेश समितिका सहभागिता रहने बताउँदै संयोजक पंगेनीले १ हजार ३ सय १० जना प्रतिनिधिको सहभागी हुने जानकारी दिनुभयो । महाधिवेशनकै अवसरमा तीन जना व्यक्तित्वलाई सम्मान समेत गर्न लागिएको उहाँले बताउनुभयो । अग्रज स्रष्टा सम्मानबाट प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष एवं कलाकार कल्याणकारी कोषका परिकल्पनाकार दुर्गा रायमाझी, पत्रकार सम्मानबाट फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारी र नारायण पाण्डे स्मृति प्रतिभा पुरस्कारबाट लोक तथा दोहोरी गायिका लक्ष्मी सुवेदीलाई सम्मान गरिने पंगेनीले जानकारी दिनुभयो । महाधिवेशन सम्पन्न गर्न ७६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।
पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै पंगेनीले कलाकार र प्रतिष्ठानको हक, हितका लागि एकताबद्ध भएर लाग्ने बताउनुभयो । प्रतिष्ठानमा कुनै किसिमको दलीय राजनीति सैह्य नभएको बताउँदै कलाकार र लोकसंगीतको हितका लागि प्रतिष्ठानले काम गरिरहेको बताउनुभयो । यसपटकको महाधिवेशनबाट विधान संशोधन गरी सबैलाई समेट्ने गरी विद्यमान ४५ सदस्यीय केन्द्रीय समितिलाई बढाएर ५५ सदस्यीय बनाउन लागिएको जानकारी गराउँदै उहाँले नेतृत्वका लागि सहमतिको प्रयास भइरहेको र सहमति नभए लोकतान्त्रिक प्रक्रिया अपनाइने समेत बताउनुभयो ।
कलाकारले सहज ढंगले रोयल्टी पाउने अवस्था नरहेको भन्दै अध्यक्ष पंगेनीले रोयल्टी संकलन र वितरणका लागि न्यायोचित र वैज्ञानिक मापदण्ड बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । त्यसका लागि राज्य गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो । महाधिवेशनमा निष्पक्ष रुपमा मतदान गर्ने व्यवस्था मिलाइएको बताउँदै पंगेनीले प्रतिनिधिलाई फोटोसहितको परिचयपत्रको व्यवस्था गरिएको बताउनुभयो ।
महाधिवेशन मूल आयोजक समितिका सह–संयोजक एवं प्रतिष्ठान, गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले छुट्टै नमुना महाधिवेशनका रुपमा पोखराको महाधिवेशनलाई सम्पन्न गर्ने तयारी गरिएको जानकारी दिनुभयो । सो अवसरमा प्रतिष्ठान, गण्डकी प्रदेशका सचिव राजन कार्कीले पनि बोल्नुभएको थियो । ८ गते सकिने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

Advertisment