लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चाका गण्डकी प्रदेश संयोजक र सह–संयोजकले सपथ ग्रहण गरे

पोखरा, २० कात्तिक
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सम्बद्ध लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपाल, गण्डकी प्रदेशका संयोजक लोकेन्द्र तरामुमगर र सह–संयोजक चिनीमाया कालामगरले सपथ ग्रहण गर्नुभएको छ ।
मोर्चाको बुधबार आयोजित गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूको भेलामा संयोजक तरामु र सह–संयोजक कालालाई मोर्चाकी केन्द्रीय कार्यालय सदस्य विमला पुलामीमगरले सपथ ग्रहण गराउनुभएको हो । भेलाले प्रदेश इञ्चार्ज लालबहादुर थापामगर, सह–इञ्चार्ज कृष्ण लामिछानेमगर, संयोजक लोकेन्द्र तरामुमगर, सह–संयोजक चिनीमाया कालामगर तथा लालबहादुर रानामगर र कृष्णबहादुर रानामगरसहितको ६ सदस्यीय प्रदेश कार्यदल बनाउने निर्णय गरेको छ । सो कार्यदलले प्रदेशको एकतासम्बन्धी गृहकार्य गर्नेछ ।
त्यस्तै, भेलाले गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्लामा दुई साबिक मगर संगठनको एकता सम्पन्न गर्नका लागि एक एक जना केन्द्रीय सदस्यलाई संयोजनको जिम्मेवारी प्रदान गरेको छ ।
भेलामा बोल्दै नेकपाका गण्डकी प्रदेश कमिटी सदस्य बालकृष्ण काउछामगरले पार्टी र संगठन निर्माणमा लाग्न आग्रह गर्नुभयो । मोर्चाका प्रदेश इञ्चार्ज लालबहादुर थापामगरले नेकपाको निर्माणमा मगर समुदायको महत्वपूर्ण योगदान रहेको भन्दै जातीय अधिकारको कुरालाई वर्गीय विचारसँग जोडेर लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो ।
त्यस्तै, प्रदेश सह–इञ्चार्ज कृष्ण लामिछानेमगरले पार्टीमा मगर समुदायका मुद्दा सुनुवाइ हुने वातावरण बनाउन मोर्चाले भूमिका खेल्नुपर्ने भन्दै पार्टी निर्माणमा पनि मगर समुदायले उत्तिकै जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

Advertisment