कास्की–२ मा समाजवादी पार्टीका उम्मेदवार ई. धर्मराज गुरुङ

काठमाडौं, २० कात्तिक
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा समाजवादी पार्टी नेपालले कास्की जिल्ला क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको लागि ई. धर्मराज गुरुङलाई उठाएको छ ।
उपनिर्वाचनका लागि पार्टीले मंगलबार उम्मेदवार घोषणा गरेको हो । उम्मेदवार गुरुङले सबैलाई समान र सम्मान हुने ऐन कानून, नियम बनाउन पहल गर्ने, विभेद अन्त्यको प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । साथै, उहाँले सुशासन कायम गर्न भ्रष्टचार, कमिशन, ढिलासुस्ती, कालोबजारीको अन्त्यका लागि पहल गर्ने, अवैध सम्पत्ति राष्ट्रियकरण गरी विकासमा लगाउने पहल गर्ने तथा जनताको सेवक बन्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।


गुरुङ सन् १९४८ मार्च ५ मा कास्कीमा जन्मिएका हुनुहुन्छ । गुरुङसँग ब्रिटिस सेनामा काम गरेको २४ बर्ष र संयुक्त राष्ट्रसंघमा काम गरेको १५ बर्षको अनुभव छ । गुरुङ गोर्खा कम्युनिटी पोखराका अध्यक्ष तथा तमु धिं नेपालका पूर्व क्षेत्रीय अध्यक्ष (भीमकालीपाटन तमु समाज) समेत हुनुहुन्छ । उहाँले फानबोरो कलेज अफ टेक्नोलोजी, युकेबाट बीई, इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रीकल इञ्जिनियरिङ गर्नुभएको छ ।
गुरुङ सानैदेखि राजनीतिमा रुची राख्नुहुन्थ्यो । सन् २०१० मा संयुक्त राष्ट्रसंघबाट सेवानिवृत्त भएपछि उहाँ सक्रिय राजनीतिमा लाग्नुभएको हो । समाजवादी पार्टी गण्डकी प्रदेश सदस्य भएर उहाँ राजनीतिमा आबद्ध हुनुभयो । पूराना पार्टी र नेताहरूले माग्ने देश बनाएको तथा देशले राजनीतिक विकल्प खोजिरहेकाले आफूले समाजवादी पार्टीबाट राजनीति गरेको उहाँले बताउनुभयो ।
उम्मेदवार गुरुङका प्रतिबद्धताहरू ः
१. सबैलाई समान र सम्मान हुने ऐन, कानुन, नियम बनाउन पहल गर्नेछु।विभेद अन्त्यको प्रयास हुनेछ ।
२. सुशासन कायम गर्न भ्रष्टचार, कमिशन, ढिलासुस्ती, कालोबजारीको अन्त्यका लागि पहल गर्नेछु।
३. देश गरिब शासक र सत्ता वरपर रहेकाहरू भुँडी फुलाउने संस्कार अन्त्य गर्ने पहल गर्नेछु। कम्तीमा पञ्चायतकालदेखिका शासक र प्रशासकहरुको सम्पत्ति छानविन गरी अबैध सम्पत्ति कमाउनेलाई कारवाही गर्न गराउन माग गर्दै अबैध सम्पत्ति राष्ट्रियकरण गरी विकासमा लगाउने पहल गर्नेछु।
४. सेवक र जनप्रतिनिधि बन्नेछु, जागिरे होइन।
५. निर्वाचन क्षेत्र विकासका लागि इमान्दारीपूर्वक प्रतिवद्ध रहनेछु। पर्यटन, कृषि, खेलकुद, सँस्कृतिको क्षेत्र बनाउने पहल गर्नेछु।
६. शिक्षा र स्वास्थ्य निशुल्क, युवा रोजगार एवम स्वरोगारको लागि पहल गर्नेछु।
७. टोलटोलमा सडक, घर घरमा विद्युत र खानेपानी सुनिश्चितता गर्नेछु।
८. भूपूका समस्याहरु समाधान गर्न, समान पेन्सन, ऋक्म् क्यान्टिन सेवा, सुविधा र अधिकारका लागि अनवरत पहल गरिहनेछु।
९. पर्यावरणीय ⁄ वातावरणीय सन्तुलनका लागि हरित क्षेत्रको अवधारणा अघि बढाउनेछु।
१०. सुकुम्वासी समस्या समाधान, व्यवस्थित बस्ती वसोवासको लागि पहल गर्नेछु।
११. व्यवस्थित बसपार्क, पार्किङ व्यवस्थापनका लागि पहल गर्नेछु ।
१२. संघीयता, सुशासन, समृद्धि, समाजवादप्रति पुर्ण प्रतिवद्ध रहदै मुलुकको समृद्धिमा जुटिरहनेछु।
१३. जाति, वर्ग, समुदायका राजनीतिक, सामाजिक साँस्कृतिक, आर्थिक, धार्मिक, सामुदायिक अधिकार र पहिचान एवम सम्मानका लागि पहल गर्नेछु।
१४. परदेशका अनुभव र लगानी निर्वाचन क्षेत्र विकासका लागि लगाउन प्रयत्न गर्नेछु।गैर आवाशिय नेपालीको अधिकारका लागि आवाज बुलन्द गर्नेछु।
१५. प्रेस स्वतन्त्रता, नागरिक स्वतन्त्रता, मानवअधिकारका लागि सधै प्रतिवद्ध रहदै हनन भएमा आवाज उठाइरहनेछु।
१६. राजनीतिक स्थायित्व र मुलुकको नेतृत्वका लागि प्रत्यक्ष जननिर्वा्चित कार्यकारी राष्ट्रपतिय व्यवस्थाका लागि पहल गर्नेछु।

Advertisment