बडा दशैं मेलाको पूर्व सन्ध्यामा संगम युवा क्लबको शुभकामना आदानप्रदान

गलकोट, २२ असोज
संगम युवा क्लब, गलकोट नगरपालिका वडा नं. ६, ठूलाथर, बागलुङले ३७ औं वार्षिकोत्सव एवं नेपालीहरुको महान् चाड बडा दशैंका अवसरमा आयोजना गर्न लागेको बडा दशैं मेला–२०७६ को पूर्व सन्ध्यामा पुनर्मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गलकोट नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सु. नरबहादुर खत्रीले जनप्रतिनिधिलाई गलत काम गराएर फसाउने प्रयास नगर्न जनसमुदायसमक्ष आग्रह गर्नुभयो । जनताका जायज काम गर्न तयार भएपनि गलत काम आफूहरुले कुनै पनि हालतमा नगर्ने भन्दै वडाध्यक्ष खत्रीले फस्ने गरेर गराउन खोजिएको काम आफ्नै पार्टी वा नातेदारको भएपनि नगर्ने बताउनुभयो ।
वडाको विकासका लागि आफू लागिपरेको भन्दै उहाँले ठूलाथरका जनताको एकता देखेर आफू प्रभावित भएको बताउनुभयो । विकास निर्माणका काममा जनताको साथ चाहिने भन्दै वडाध्यक्ष खत्रीले वडालाई समृद्ध बनाउन सीमित स्रोतसाधनका बाबजुत पनि कसरत जारी रहेको उल्लेख गर्नुभयो । वडा नं. ६ नगरपालिकाकै केन्द्र रहेको भन्दै उहाँले नगर क्षेत्रको विकासमा वडा नं. ६ को नेतृत्वदायी भूमिका रहने धारणा व्यक्त गर्नुभयो ।
त्यस्तै, वडा सदस्य भीमबहादुर विकले संगम युवा क्लबले विगतदेखि नै आफ्नो नियमित कार्यक्रमलाई निरन्तरता दिएकोमा खुशी व्यक्त गर्दै विकास, निर्माण र अन्य सामाजिक कार्यमा समेत क्लबलाई अग्रसर गराउनुपर्ने आवश्यकता औंल्याउनुभयो । अर्का वडा सदस्य मनोजकुमार थापाले वडाको विकासका लागि युवाहरुको महत्वपूर्ण भूमिका हुने भन्दै आफूहरु पनि युवा भएकाले युवाको भावना बुझेर अघि बढ्ने भनाइ व्यक्त गर्नुभयो ।
गलकोट नगरपालिका वडा नं. ६ अन्तर्गत ४ नम्बर टोल संयोजक कर्णबहादुर पुनले युवाहरुको सक्रियता देखेर आफू हर्षित भएको भन्दै कर्मकाण्डी रुपमा नभइ वास्तविक परिवर्तनका लागि युवाहरुले काम गर्नुपर्ने बताउनुभयो । क्लबका पूर्वअध्यक्ष एवं नवज्योति (दुर्गा) आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर पुनले अग्रजहरुसँगको सरसल्लाह लिएर सबैसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । संस्कृति संरक्षण मञ्च, ठूलाथरका अध्यक्ष तारा श्रीसले मेलालाई सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
युवा नेता एवं व्यवसायी फरेन्द्र थापाले संगम युवा क्लब गलकोट क्षेत्रकै पूरानो सामाजिक संस्था भएको भन्दै यसको दायरा फराकिलो बनाएर लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो । नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रुद्रबहादुर श्रीसले ठूलाथर सांस्कृतिक रुपले धनी र सम्भावनायुक्त ठाउँ रहेको भन्दै उचित योजना बनाएर अघि बढ्न सके ठूलाथरले विकासमा फड्को मार्न सक्ने बताउनुभयो ।
प्रायोजकका तर्फबाट बोल्दै यामबहादुर विकले क्लबले गर्ने हरेक कार्यमा सानै भएपनि सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा पनि ठोस योजनाका साथ आए अझै पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा गलकोट नगरपालिका, न्यायिक समितिकी सदस्य डोलकुमारी थापा, भालुखानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रनबहादुर श्रीस, क्लबका संस्थापक सदस्य मोहनप्रसाद श्रीसलगायतले क्लबलाई गलकोटकै अग्रणी संस्थाका रुपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो ।
क्लबका अध्यक्ष राजबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राजन कार्की र सह–सचिव गगन विकले स्वागत गर्नुभएको थियो ।

Advertisment