बालमैत्री सञ्चार निर्देशिकाबारे पोखरामा प्रदेशस्तरीय अन्तरक्रिया सम्पन्न

पोखरा, १४ वैशाख
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालमैत्री सञ्चार निर्देशिका–२०७३ तथा यसको व्याख्यात्मक टिप्पणीसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्न गरेको छ ।
प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिसँगको सहकार्यमा मन्त्रालयले यसअघि छ वटा प्रदेशमा अन्तरक्रिया सम्पन्न गरिसकेको छ । नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिसँगको समन्वयमा आयोजित कार्यक्रममा निर्देशिकाबारे व्याख्यात्मक टिप्पणी प्रस्तुत गर्दै केन्द्रीय बालकल्याण समितिका परियोजना संयोजक आत्माराम थापाले बालबालिकाका बारेमा लेख्दा र बोल्दा बालबालिकाको संवेदनाका बारेमा सचेत हुनुपर्ने भनाइ राख्नुभयो ।
कुनै पनि सामग्री प्रकाशन वा प्रसारण गर्दा बालबालिकाको हितलाई ध्यान दिनुपर्ने भन्दै थापाले बालमैत्री पत्रकारितालाई जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । पत्रकारको सरोकार र बालबालिकाको हितलाई ध्यानमा राखी सबैको सुझाव लिएर निर्देशिकाको व्याख्यात्मक टिप्पणीबारे अन्तरक्रिया गर्नु परेको उहाँको भनाइ थियो ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले सञ्चार निर्देशिका अनुसार नै बालमैत्री पत्रकारितालाई जोड दिनुपर्ने बताउँदै बालबालिकाको सवाल संवेदनशील कुरा भएको बताउनुभयो । प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले बालबालिकाको मनोविज्ञानमा असर पर्ने सामग्री प्रकाशन र प्रसारण दुवै गर्न नहुने बताउनुभयो । पत्रकारले जिम्मेवार भएर पत्रकारिता गर्नुपर्ने उहाँको भनाइ छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले बालबालिकाको हितमा गर्न हुने र गर्न नहुने कुरा निर्देशिकामा समेटिएको भन्दै बालअधिकारलाई पत्रकार महासंघले महत्व दिएको प्रमाण निर्देशिका भएको बताउनुभयो । पत्रकार आचारसंहितालाई पत्रकारले अक्षरशः पालना गर्नुपर्ने बताउँदै अध्यक्ष आचार्यले पत्रकारको पेशागत र भौतिक सुरक्षाका लागि पत्रकार महासंघ सधैं लड्न तयार रहेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिका महासचिव गणेश पौडेलले पनि बोल्नुभएको थियो ।

Advertisment