मगर चलचित्रकर्मी संघ कास्की अध्यक्षमा राहुल थापामगर

पोखरा, ७ वैशाख
मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा राहुल थापामगर सर्वसम्मत चयन हुनुभएको छ । यसअघि, थापामगर तदर्थ समितिको अध्यक्ष हुनुहुन्थ्यो ।
शनिबार पोखरामा सम्पन्न जिल्ला अधिवेशनबाट उपाध्यक्षमा केशव आलेमगर, सचिवमा आशीष पुनमगर, सह–सचिवमा अशोक आलेमगर, कोषाध्यक्षमा प्रिया थापामगर र सह–कोषाध्यक्षमा कुमारी पुनमगर चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा स्नेहा पुनमगर, समीक्षा रानामगर, विमल थापामगर, किरण पुनमगर, सृष्टि थापामगर, शीतल रानामगर र गोमा थापामगर रहनुभएको छ ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै मगर चलचित्रकर्मी संघ नेपालका अध्यक्ष युवराज मास्कीमगरले मगर चलचित्रको विकासका लागि ढिला नगरी अघि बढ्ने बेला आएको बताउनुभयो । मगरपनको मगर चलचित्र निर्माण गर्न संघले देशव्यापी अभियान चलाइरहेको भन्दै अध्यक्ष मास्कीमगरले संगठन विस्तारसँगै तालिम र प्रशिक्षणलाई पनि तीव्रता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
संघका केन्द्रीय सल्लाहकार राज थापामगरले मगर चलचित्रको विकासका लागि दक्ष प्राविधिकसँगै कलाकारको पनि उत्तिकै जरुरत रहेको भन्दै मगरपनको कथावस्तुसँगै नयाँ प्रविधिसँग समेत मगर चलचित्रले साक्षात्कार गर्नुपर्नेमा जोड दिनुभयो । मगर चलचित्रमै लागेर बाँच्न सक्ने अवस्था अझै पनि नरहेको भन्दै चलचित्र निर्माणमा कमी आउनुका कारण कलाकारहरूले काम नपाइरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर महिला संघ, कास्कीकी सचिव ईश्वरी थापामगर र नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य दिनेश रोकामगरले अझै पनि मगर समुदायले खोजेजस्तो मगर चलचित्र निर्माण हुन नसकेको भन्दै यसतर्फ मगर चलचित्रकर्मीहरूको विशेष ध्यान जानुपर्ने आवश्यकता औंल्याउनुभयो ।
मगर चलचित्रकर्मी संघ नेपाल, कास्की जिल्ला तदर्थ समितिका अध्यक्ष राहुल थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव आशीष पुनमगर र कोषाध्यक्ष प्रिया थापामगरले स्वागत गर्नुभएको थियो ।
यसैबीच, नवनिर्वाचित मगर चलचित्रकर्मी संघ नेपाल, कास्की जिल्ला कार्यसमितिले संघका केन्द्रीय पदाधिकारीहरूसँगै मगर चलचित्रको विकासका लागि कसरी अघि बढ्न सकिन्छ भनी अन्तरक्रिया समेत गरेको छ । अन्तरक्रियामा कास्कीमा क्रियाशील मगर चलचित्रकर्मीहरूले केन्द्रीय पदाधिकारीसमक्ष विभिन्न जिज्ञासा राखेका थिए । सो अवसरमा संघका केन्द्रीय अध्यक्ष युवराज मास्कीमगर, सल्लाहकार राज थापामगरसहित केन्द्रीय उपाध्यक्ष मेजन पुनमगर, वरिष्ठ चलचित्रकर्मी सन्तोष पिठाकोटेमगर, रेडियो नेपाल, प्रदेश प्रसारण केन्द्र, पोखराका वरिष्ठ सञ्चारकर्मी हर्क आलेमगरलगायतले मगर चलचित्रको विकास सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए ।

Advertisment