बानियाँ बन्धु समाजको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन

पोखरा, ४ वैशाख
बानियाँ बन्धु समाज कास्कीले नयाँ वर्ष २०७६ को अवसरमा शुभकामना आदानप्रदानसँगै समाजले प्रकाशन गरेको भित्तेपात्रो विमोचन गरेको छ ।
आज आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सांसद् विन्दुकुमार थापाले भित्तेपात्रो विमोचन गर्नुभएको हो । सो अवसरमा शुभकामना व्यक्त गर्दै सांसद् थापाले सम्पूर्ण क्षत्रीहरूको एकताका लागि यस्ता थरसम्बन्धित समाजहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
बानियाँ क्षत्रीहरूले समाजको स्थापना गरेर आफ्नो जातीय पहिचानसँगै जातीय सद्भाव कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सांसद् थापाले राजनैतिक परिवर्तनपछि सबैको अपनत्व महसुस हुने गरी नयाँ संविधान आएको उल्लेख गर्नुभयो । जातीय एकता र सद्भावका लागि क्षत्रीहरूको साझा संस्था क्षत्री समाजले अग्रणी भूमिका निर्वाह गरेको प्रसंग निकाल्दै उहाँले बानियाँ क्षत्रीहरू संगठित भइ आफ्नो पहिचान र अधिकारका सन्दर्भमा समेत सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
समाजका केन्द्रीय संरक्षक एवं पूर्व सांसद् चन्द्रप्रकाश बानियाँले बानियाँ क्षत्रीहरूको इतिहास र पहिचानका लागि समाजको स्थापना भएको जनाउँदै आर्थिक उन्नतिका लागि एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । केन्द्रीय महासचिव शिवशंकर बानियाँले देशैभरि रहेका बानियाँहरूलाई एकताबद्ध गर्दै समाजमा संगठित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा समाजका केन्द्रीय सदस्य दीपेन्द्र बानियाँ, तनहुँ जिल्ला अध्यक्ष घनश्याम बानियाँ, पूर्व सचिवहरूका तर्फबाट ललितबहादुर बानियाँ, भित्तेपात्रोमा विज्ञापन दिने विज्ञापनदाताहरूका तर्फबाट कमला बानियाँ, प्रथम उपाध्यक्ष एवं भित्तेपात्रो प्रकाशन उपसमितिका संयोजक होमबहादुर बानियाँ, पूर्व कोषाध्यक्ष एवं कर्णेश्वर शिवालय मन्दिर, लामाचौरका अध्यक्ष नेत्रबहादुर बानियाँलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । समाजका अध्यक्ष डम्बरबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव राजेन्द्रबहादुर बानियाँ र द्वितीय उपाध्यक्ष सुनिता बानियाँले स्वागत गर्नुभएको थियो ।

Advertisment