अर्घाखाँची–पोखरा सम्पर्क समाजको १३ औं साधारणसभा सम्पन्न

पोखरा, १ वैशाख
अर्घाखाँची–पोखरा सम्पर्क समाजको १३ औं साधारणसभा तथा नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार आयोजित कार्यक्रममा समाजद्वारा प्रकाशित नयाँ वर्ष २०७६ को भित्तेपात्रो समेत विमोचन गरिएको हो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले जहाँ जस्तो अवस्थामा रहेपनि आफ्नो जन्मभूमिप्रतिको कर्तव्य भुल्न नहुने भनाइ राख्नुभयो । आफ्नो पुख्र्यौली भूमिको विकासका लागि जुन ठाउँमा जुन पेशा, व्यवसायमा भएपनि आफ्नो ठाउँबाट जुट्नुपर्ने भन्दै प्रदेश प्रमुख कुँवरले सामाजिक भावनाका साथ एक आपसमा सुख, दुःख साटासाट गर्न यस्ता समाज उपयोगी हुने धारणा व्यक्त गर्नुभयो ।
पूर्व उपप्रधान तथा ऊर्जा मन्त्री एवं संघीय सांसद् टोपबहादुर रायमाझी “अनिल”ले नयाँ वर्षले नयाँ एजेण्डाका साथ देशलाई अघि बढाउने प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभयो । अर्घाखाँचीबासी र अर्घाखाँची जिल्लाको समग्र विकास र समृद्धिका लागि जुनसुकै विचार एवं राजनीतिमा आस्था राख्ने भएपनि एकजुट भएर विकासमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।
सो अवसरमा प्रदेश नं. ५ का प्रदेश सांसद्द्वय निर्मला क्षेत्री र जालपा भुसाल, शीतगंगा नगरपालिका, अर्घाखाँचीका प्रमुख सूर्यप्रसाद अधिकारी, छत्रदेव गाउँपालिका, अर्घाखाँचीका अध्यक्ष लेखनाथ पोखरेल, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, समाजका निवर्तमान अध्यक्ष कृष्णप्रसाद पाण्डे, सल्लाहकार गुणानिधि पाण्डे, ज्ञानहरि आचार्यलगायतले बोल्नुभएको थियो । कार्यक्रममा अर्घाखाँचीका कलाकारहरू मधुसूदन बञ्जाडे, पुरुषोत्तम पौडेल र कृष्ण सापकोटाले सांगीतिक प्रस्तुती राखेका थिए भने एसके डान्स स्कुलका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए ।
समाजका अध्यक्ष लीलाबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव रामप्रसाद पौडेल र प्रथम उपाध्यक्ष चेतनारायण पाण्डेले स्वागत गर्नुभएको थियो ।

Advertisment