महिलाहरूको बलिदानीको पार्टीले सही मूल्याङ्कन गरोस् ः महिला नेतृहरू

पोखरा, २३ फागुन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महिला नेतृहरुले महिलाहरुको बलिदान र त्यागलाई पार्टीले सही मूल्यांकन गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार पोखरामा आयोजित कार्यक्रममा अखिल नेपाल महिला संघ (अनेमसंघ)की अध्यक्ष एवं प्रतिनिधिसभाकी सांसद् गोमा देवकोटाले महिलाहरूको बलिदान र योगदानलाई पार्टीले सही मूल्याङ्कन गर्नुपर्ने बताउनुभएको हो ।
१०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको पूर्व सन्ध्यामा अनेमसंघ कास्की र अनेमसंघ (क्रान्तिकारी) कास्कीले बुधबार पोखरामा आयोजना गरेको “महिला अधिकारका निम्ति राज्यका तीन वटा सरकारका नीति, कार्यक्रम र ऐन, कानून तर्जुमा र कार्यान्वयनका योजना”सम्बन्धी विचार गोष्ठीमा बोल्दै उहाँले महिला नेता र कार्यकर्ताले महिलाको बलिदानीलाई पार्टीले सही मूल्याङ्कन गरेको छ कि छैन भनेर ध्यान दिनुपर्ने बताउनुभयो ।

अझै पनि सोंचेजति महिलाका अधिकार प्राप्त हुन नसकेको भन्दै सांसद् देवकोटाले पुरुष नेताहरुले दयाले दिएको नभइ महिला आन्दोलनका कारण वर्तमान उपलब्धी प्राप्त गरेको भनाइ राख्नुभयो । महिलाहरू आन्दोलनमा ब्यानर बन्न मात्रै नभएको उल्लेख गर्दै उहाँले महिलाहरु राजनीतिसँगै आर्थिक रुपमा पनि सक्षम हुनु जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । कम्युनिष्ट पार्टीको लक्ष्य समाजवाद र साम्यवाद प्राप्ति भएको भन्दै सांसद् देवकोटाले त्यस लक्ष्यमा पुग्न महिलाहरुको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो ।
अनेमसंघ (क्रान्तिकारी)की अध्यक्ष एवं प्रतिनिधिसभाकी सांसद् अमृता थापाले महिलाहरुले केही गर्न सक्दैनन् भन्ने सोंच सामन्ती सोंच भएको भन्दै कसैको दयाले नभइ आन्दोलनबाट महिलाहरुले कैयन् अधिकार प्राप्त गर्न सफल भएको बताउनुभयो । महिलाहरुलाई राजनीति गर्न पुरुषलाई जति सहज नभएको भन्दै उहाँले घरको चुलोचौकोसँगै राजनीति र समाजसेवालाई अघि बढाउनुपर्ने बाध्यता महिलाहरुको रहेको भनाइ राख्नुभयो ।
महिलाहरुलाई सधैं विशेषाधिकार र आरक्षणमा मात्र सीमित गरिन नहुने भन्दै सांसद् थापाले अवसर पाए पुरुषले जति क्षमता प्रदर्शन गर्न सक्ने बताउनुभयो । महिला आन्दोलनका कारण राजनैतिक रुपमा धेरै उपलब्धी भएपनि अझै पनि सोंचेजस्तो अधिकार प्राप्तिका लागि महिला आन्दोलनको आवश्यकता रहेकोमा जोड दिनुभयो ।


कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), कास्कीका जिल्ला संयन्त्र सदस्य एवं गण्डकी प्रदेशका सांसद् कृष्ण थापा, अर्का जिल्ला संयन्त्र सदस्य बखानसिंह गुरुङ “आभाष”, अनेमसंघकी केन्द्रीय सदस्य लोचना अधिकारीलगायतले महिला अधिकारमा पार्टीको भूमिकाबारे बोल्नुभएको थियो । सो अवसरमा पोखरा महानगरपालिकाकी सरसफाइ शाखा प्रमुख कल्पना बरालले महिलासम्बन्धी नीति, कार्यक्रम तथा ऐन, कानून कार्यान्वयनको अवस्थाबारे प्रस्तुती राख्नुभएको थियो ।
अनेमसंघ, कास्कीकी अध्यक्ष सुशीला पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अनेमसंघ (क्रान्तिकारी), कास्कीकी कल्पना पाण्डे र अनेमसंघ, कास्कीकी उपाध्यक्ष कल्पना पौडेलले स्वागत गर्नुभएको थियो ।

Advertisment