मगर भाषालाई कामकाजको भाषा बनाउन अगुवाइ गर्छु ः सांसद् चर्ती

पोखरा, ७ माघ
नेपाल मगर संघ, भाषा विभाग, भाषा विकास समितिको आयोजनामा मगर भाषाको वर्णमाला र स्तरीय तथा सरल लेखनसम्बन्धी एक दिने कार्यशाला गोष्ठी सोमबार पोखरामा सम्पन्न भएको छ ।
नेपाल मगर संघ, कास्कीको व्यवस्थापनमा भएको गण्डकी प्रदेशस्तरीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद् दीपक थापा चर्तीमगरले मगर भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा बनाउन अगुवाइ गर्ने प्रतिबद्धता जनाउनुभएको छ । गण्डकी प्रदेशमा नेपाली भाषाबाहेक मगर र गुरुङ भाषा बोल्ने समुदायको बाहुल्यता रहेको तर्क गर्दै सांसद् चर्तीमगरले मगर र गुरुङ दुवै भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रदेशको सरकारी कामकाजको भाषा र मातृभाषामा शिक्षाका लागि छिटै निष्कर्षमा पुगिने बताउँदै उहाँले प्रदेश सरकार र प्रदेशसभाले यसबारे आवश्यक निर्णय लिने विश्वास व्यक्त गर्नुभयो । कुनै पनि भाषा कुनै जातिविशेषको मात्र नभइ राष्ट्रकै सम्पत्ति भएको दाबी गर्दै सांसद् चर्तीमगरले लोपोन्मुख भाषाहरूको संरक्षण अपरिहार्य रहेकोमा जोड दिनुभयो ।
मगर भाषा विज्ञ एवं मगर भाषा प्रतिष्ठानका अध्यक्ष लोकबहादुर थापामगरले मगर भाषा लेखनलाई स्तरीय एवं सरल बनाउने नाममा पूरानो परम्परालाई भत्काउन नहुने तर्क गर्नुभयो । सरल बनाउने नाममा मगर भाषाको लेख्य परम्परा बिगार्न खोजिएकोप्रति असन्तुष्टि प्रकट गर्दै उहाँले जथाभावी गरेर भाषा बिगार्न नहुने बताउनुभयो ।


नेपाल मगर संघकी केन्द्रीय कोषाध्यक्ष कमला थापामगरले मगर भाषाको विकासका लागि राज्यले विशेष भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै मगर समुदायले आफ्नो पहिचान स्थापित गर्नका लागि निरन्तर संघर्ष गर्दै आएको बताउनुभयो । मगरात प्राप्ति नभएसम्म मगर संघले निरन्तर दबाबमूलक आन्दोलन जारी राख्ने बताउँदै उहाँले मगर जातिको भाषा, धर्म र संस्कृतिको संरक्षणका लागि विभिन्न योजना बनाइएको जानकारी दिनुभयो ।
गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै मगर भाषा विकास समिति अन्तर्गत विज्ञ कार्यदल संयोजक विद्यावारिधि शोधार्थी विष्णुकुमार सिंजालीमगरले मगर भाषाको लेख्य परम्परा बिगार्न हुँदैन भनेर यथास्थितिमै बस्न नहुनेमा जोड दिनुभयो । भाषा आफैंमा गतिशील हुने भन्दै उहाँले समयानुसार भाषा स्वतः परिमार्जन हुँदै जाने बताउनुभयो । विज्ञ कार्यदल सदस्य पूर्णबहादुर रानामगरले भाषाविज्ञानलाई आधार मानेर मगर भाषामा लेख्य परम्पराको विकास गरिनुपर्नेमा जोड दिनुभयो ।


कार्यपत्रमाथि नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समिति सदस्य खेम सारूमगर, नेपाल मगर भूसाल संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर थापामगर, लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यावारिधि शोधार्थी टीबी पुनमगर “रोशन” र नेपाल मगर संघ, पोखरा महानगर समितिका अध्यक्ष बलवीर रानामगरले मगर भाषाको स्तरीयता र लेखन शैलीबारे विभिन्न टिप्पणी गर्नुभएको थियो ।
नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष एवं भाषा विभाग प्रमुख दलबहादुर वीरकट्टामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल मगर लेखक संघका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगर र नेपाल मगर संघ, कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले स्वागत गर्नुभएको थियो ।
नेपाल मगर संघ, भाषा विभाग, भाषा विकास समितिले सातै प्रदेशमा मगर भाषासम्बन्धी कार्यशाला गोष्ठी गरिरहेको छ । यसअघि, कर्णाली प्रदेश र प्रदेश नं. ५ मा कार्यशाला गोष्ठी सम्पन्न भइसकेको विज्ञ कार्यदल संयोजक विष्णुकुमार सिंजालीमगरले जानकारी दिनुभयो ।

Advertisment