–डा. मीन श्रीस
गुल्मीतिर कात्तिक पूर्णिमालाई ‘भिकुमपुर्ने’ तथा रमिता वा मेलाजात्रालाई ‘राम’ भनेर बुझ्ने गरिन्छ । पारगुल्मी भनेर चिनिने सत्यवती, कालीगण्डकी र चन्द्रकोट गाउँपालिका भेगमा अहिले भिकुमपुर्ने रामको तयारी र चटारो छ । पारगुल्मीको भिकुमपुर्ने उत्सवले कालीगण्डकी करीडोरका स्याङ्जा र पर्वतका गाउँलेहरूलाई पनि आकर्षित गर्दछ । भिकुमपुर्ने उत्सवको अन्तरसम्बन्ध सत्यवतीदेवीको पूजाआजासँग रहेको देखिन्छ । थामोडाँडा सत्यवती (भार्से), कौडेसत्यवती (ग्वाघा), बूढीसत्यवती (फोक्सिङ) र क्वाङसत्यवती (लुम्पेक) देवस्थलहरूमा कात्तिक पूर्णिमाका दिन पूजाआजा गरेपछि साँझपख मारुनी नचाउने र झाम्रे बस्ने पुरानो परम्परा पाइन्छ । सेतीबेनी र पूर्तिघाटको घुमाउनेमा भने कात्तिक शुक्ल एकादशी (ठूली एकादशी) मा ठूलो मेला लाग्ने गर्दछ ।
पारगुल्मीका सत्यवतीलाई पाल्पाकी सत्यवतीको प्रतीक स्वरुप (replica) मानिन्छ । दक्षिणी पाल्पाको साविक कालीडाँडा २, स्थित सत्यवती बजैको देवस्थलमा कात्तिक पूर्णिमामा ठूलो मेला लाग्ने गर्दछ । भाकल गरेकाहरू पूर्णिमाको अघिल्लो दिन सत्यवती बजै (बराज्यू) सँग वर माग्नका लागि देवस्थल परिसरमा पुगिसक्छन् । भाकलकर्ताहरूले त्यहीँको जंगलमा पाइने सालको लिङ्गो सहित वर माग्दै कुण्डको वरिपरि घुम्दछन्। पूर्णिमाको विहानै स्नान गरी आ–आफ्नो लिंगोमा फूल–प्रसाद र बोका भोग दिन्छन् भने परेवा उडाउँछन् । सत्यवती बज्यै बहिरी भएको भनेर चिच्याउदै वर मागिसकेपछि पछाडि नफर्कीकन सबै आ–आफ्नो घरतिर लाग्छन् । विहान ३ बजेपछि त्यहाँ कोही पनि बस्न हुँदैन भन्ने मान्यता रहेको छ ।
सत्यवती पाल्पा क्षेत्रका स्थानीय मगर राजा ऋतुवर्णकी रानी थिइन् भन्ने लोककथन पाइन्छ । ऋतुवर्णको दरवारको भग्नावशेष वर्तमान नवलपरासीमा र समाधी वर्तमान पाल्पा जिल्लामा पर्दछ । पाल्पामा सेनवंशको राज्य स्थापना हुनु अघि विक्रमको पन्ध्रौं शताब्दीतिर पूर्वी पाल्पा भेगमा ऋतुवर्ण र सत्यवती राजारानीको अस्तित्व भएको कथन पाइन्छ । रानीको मृत्यु पश्चात जनताले सत्यवती बजैको रुपमा पुज्न थालेको बुझिन्छ । पाल्पा, स्याङ्जा र तनहूँका मगर समाजमा प्रचलित घाटु गाथामा शुरुदेखि अन्त्यसम्म राजा ऋतुवर्ण र रानी सत्यवतीको वर्णन गरिएको पाइन्छ । त्यसकारण ऋतुवर्ण राजा र सत्यवती रानी पाल्पा र नवलपरासी भेगका स्थानीय मगर राजारानी भएको पुष्टि हुन्छ । स्याङ्जा राम्चेमा प्रचलित घाटु नृत्यगीतमा अभिनय गर्ने कन्याहरूलाई कात्तिक ठूली एकादसीका दिन सेतीवेनी घाटुडीमा लगेर देवात्मा आरोपित गराइनु तथा सत्यवती बजैको देवस्थलमा कात्तिक पूर्णिमाका दिन मेला लगाइनु अन्तरसम्बन्धित देखिन्छ ।
कात्तिक पूर्णिमालाई विशेष पर्वोत्सवको रुपमा मनाउने चलन गुल्मी र पाल्पामा मात्र होइन सुदूरपश्चिम नेपालका डोटी, डडेलधुरा, बैतडी, अछाम, बाजुरा, बझाङ, दार्चुला लगायतका जिल्लाहरूमा पनि पाइन्छ । ती जिल्लाहरूका शैल्यशिखर, मालिकार्जुन, त्रिपुरासुन्दरी भगवती, रौलाकेदार, महारुद्र, शिवनाथ, उग्रतारा आदि शक्तिपीठहरूमा कात्तिक शुक्लपक्षभरि पूजाआजा तथा जात्रा गरेर पूर्णिमाका दिन समापन गर्ने चलन रहेको छ । मंसिर पूर्णिमा अर्थात धान्यपूर्णिमा वा देवालीपूर्णिमाका दिन कुलपितृ र प्रकृतिको पूजा गरेर मनाउने चलन पश्चिम नेपालको सबैजसो पहाडी समाजमा पाइन्छ । मंसिर पूर्णिमालाई किसानहरूले उँधौली बालीपूजा वा मंसिरे भेजाका रुपमा पनि मनाउने गर्दछन् । उँभौली याममा फागुन पूर्णिमा र वैशाख पूर्णिमा (चण्डीपूर्णिमा वा चण्डीभेजा) विशेष रुपमा मनाउने गरिन्छ ।
यसरी पश्चिम नेपालमा पूर्णिमा केन्द्रीत चाडवाड तथा उत्सवहरूलाई विशेष महत्व दिनुका पछाडि बौद्ध संस्कृतिको प्रभाव हुनसक्छ । पश्चिम नेपालको प्राचीन कपिलवस्तु राज्यका राजा सुद्धोधन र कोलीय राज्यकी राजकुमारी मायादेवीका सन्तान सिद्धार्थ गौतमको जन्म ईशापूर्व ५६३ वैशाख पूर्णिमाको दिन लुम्विनी (रुपन्देही) मा भएको थियो । वैशाख पूर्णिमाकै तिथिमा उनले बुद्धत्व र महापरिनिर्वाण प्राप्त गरेका थिए । आषाढ पूर्णिमाका दिन बुद्धले महाभिनिष्क्रमण (गृहत्याग), प्रथम संघको स्थापना र धर्मचक्र प्रवर्तन गरेका थिए । पश्चिम नेपालमा बौद्ध संस्कृतिको प्रभाव सिञ्जा साम्राज्यकालसम्म रहेको ऐतिहासिक तथा पुरातात्विक प्रमाणहरू पाइएका छन् । विक्रमको बाह्रौं शताब्दीदेखि पन्ध्रौं शताब्दीसम्म गोरखादेखि पश्चिमको भूभाग सिञ्जा साम्राज्यभित्र पर्दथ्यो । बौद्ध धर्मको तान्त्रिक बज्रयान सम्प्रदायलाई सिञ्जा सम्राटहरूले राजधर्म मानेको हुँदा पश्चिम नेपालको पहाडी समाजमा पूर्णिमा केन्द्रीत चाडवाड एवं उत्सवहरू मनाउने परम्परा स्थापित भएको बुझिन्छ । त्यसैले गण्डकी प्रश्रवण क्षेत्रको गुल्मी, वागलुङ, पाल्पा, स्याङ्जा, प्यूठान, अर्घाखाँची आदि जिल्लाहरूमा असोज पूर्णिमा सराँय नाच्ने र जमरा सेलाउने गरिन्छ भने कात्तिक पूर्णिमामा विभिन्न शक्तिपीठहरूमा पूजा गर्ने, मंसिर पूर्णिमामा कुलपितृ र प्रकृतिलाई पूजा गरेर उत्सव मनाउने, फागुन पूर्णिमामा यऊनाट चाड मनाउने र वैशाख पूर्णिमामा घाटु नचाउने परम्पराले निरन्तरता पाइरहेको पाइन्छ ।
सन्दर्भ सामग्री
ऐर, भवानी. (२०७५ कात्तिक २७). दसैँ तिहारपछि सुदूरपश्चिममा जात्राको ताँती. गोरखापत्र, पृ. ९ ।
बराल मगर, केशरजंग. (२०५०, पुनर्मुद्रण २०६८). पाल्पा, तनहूँ र स्याङजाका मगरहरूको संस्कृति. काठमाडौंः अस्मिता बुक्स पब्लिसर्स एण्ड डिष्ट्रिब्युटर्स प्रा. लि. ।
श्रीस मगर, मीन. (२०६८). मगर पुजारी रहेका प्रसिद्ध देवस्थलहरू. काठमाडौंः मगर अध्ययन केन्द्र ।
—. (२०७०). मगर समाजमा प्रचलित लोकगीतिनाट्य घाटुको विश्लेषण. शोधमाला, ७ (२), पृ. ४८–८० ।
—.(२०७४). बुद्ध, बौद्ध दर्शन, बौद्ध सम्पदाहरू र मगर जातिको संस्कार विधि. ललितपुरः मगर अध्ययन केन्द्र ।
—. (२०७५क). भार्से–अर्कुल राज्यको इतिहास. ललितपुरः जीवन–गंगा कल्याण कोष ।
—. (२०७५ख). चाडवाडहरूको समाजशास्त्रीय विश्लेषण. ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।