ओम फाउण्डेशन नेपालद्वारा कास्की प्रहरी सम्मानित

पोखरा, २५ असोज
अपराध अनुसन्धानमा उल्लेखनीय कार्य गरेको भन्दै ओम फाउण्डेशन नेपालले कास्की प्रहरीलाई सम्मान गरेको छ । पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गर्ने अभियुक्त कुसुम पौडेललाई २४ घण्टा नबित्दै पक्राउ गरी कारबाहीको दायरामा ल्याउन कास्की प्रहरी सफल भएको भन्दै सम्मान गरिएको हो ।
बिहीबार आयोजित बडा दशैं, तिहार, नेपाल सम्वत् एवं छठ पर्वको शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रममा गण्डकी प्रदेशसभाकी उपसभामुख सिर्जना शर्माले जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख, प्रहरी उपरीक्षक ओमबहादुर राना, प्रहरी नायब उपरीक्षक रविन्द्रमान गुरुङ र वडा प्रहरी कार्यालय, बैदामका प्रमुख, प्रहरी नायब उपरीक्षक नवीन कार्कीलाई सम्मान गर्नुभयो । सो अवसरमा इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुदमा प्याराग्लाइडिङ खेलमार्फत् नेपाललाई रजत पदक दिलाउन सफल प्याराग्लाइडिङ टोलीका नेतृत्वकर्ता विमल अधिकारीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै उपसभामुख शर्माले अपराध अनुसन्धानमा सफलता प्राप्त गरी शान्ति, सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निभाएकोमा कास्की प्रहरीको प्रशंसा गर्नुभयो । महिला हिंसा, बलात्कार र हत्याका घटना रोक्न प्रहरी एक्लैले नसक्ने भन्दै सिंगो समाज नै बलात्कारी र हत्याराका विरुद्ध जाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सो अवसरमा गण्डकी प्रदेशका सांसद्द्वय राजीव पहारी र इन्द्रधारा विष्ट, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ सीता गिरी ओली, चुडामणि जंगलीलगायतले बोल्नुभएको थियो । ओम फाउण्डेशन नेपालकी अध्यक्ष दिलु गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य सन्तोष बस्याल र महासचिव सुरेन्द्र गुरुङले स्वागत गर्नुभएको थियो ।

Advertisment