धार्मिक खोल ओडेर नेपाललाई सिक्किम बनाउने मोदीको खेल ः केसी

रूद्र श्रीसमगर
पोखरा, २८ वैशाख
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कडा टिप्पणी गर्नुभएको छ ।
पार्टीसम्बद्ध अखिल नेपाल युवक संघको सातौं राष्ट्रिय सम्मेलनलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै अध्यक्ष केसीले धार्मिक भ्रमणका नाममा नेपाललाई सिक्किमीकरण गर्ने योजनामा मोदीको भ्रमण भएको आरोप लगाउनुभयो । ‘धर्मको नाममा भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई आफ्नै प्रान्त बनाउने खेल खेल्दैछन्’, अध्यक्ष केसीले भन्नुभयो, ‘विगतमा पनि नेपालका शासकहरूले भारतलाई थुप्रै नदीनाला कन्यादान गरेका छन्, अहिले हाम्रा प्रधानमन्त्रीले पनि अरुण नदी कन्यादान गर्दैछन् ।’
‘मोदीको धार्मिक खोलभित्र चौरासी खेल खेलेर नेपाललाई सके सिक्किम नभइ भुटान बनाउने खेलमा छन्’, केसीले भन्नुभयो, ‘देशको राष्ट्रिय अखण्डतामाथि सौदाबाजी गर्नेहरू विरुद्ध हाम्रो पार्टी लडिरहेको छ ।’ भारतसँग भएका सबै सन्धि सम्झौता खारेज गर्नुपर्ने भन्दै केसीले विदेशी हस्तक्षेपबाट मुक्त नभएसम्म नेपालको समृद्धि सम्भव नभएको बताउनुभयो ।
आर्थिक रुपले नेपालले संघीयता धान्नै नसक्ने भन्दै अध्यक्ष केसीले संघीयता कुनै पनि हालतमा चल्न सक्ने अवस्थामा नरहेको बताउनुभयो । ‘नेपालमा संघीयता चल्नेवाला छैन’, उहाँले भन्नुभयो, ‘नेपाली जनताले संघीयता खारेज गर्नेछन्, यदि त्यसो भएन भने संघीयताले देश नै खारेज गर्नेछ ।’
वाम गठबन्धन सरकारले यातायात क्षेत्रको सिण्डिकेट खारेज गरेकोप्रति खुशी व्यक्त गर्दै अध्यक्ष केसीले नेपालमा १५ प्रकारका सिण्डिकेट कायम रहेको र अब अझै १४ वटा सिण्डिकेट बाँकी रहेको बताउनुभयो । ‘यो सरकारले सिण्डिकेट हटाउनु सकारात्मक छ’, केसीले भन्नुभयो, ‘तर, यातायात क्षेत्र मात्र होइन, हरेक क्षेत्रमा सिण्डिकेट छ, त्यो हटाउन सरकार तयार हुनुपर्छ ।’
३० गतेसम्म चल्ने संघको सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै समसामयिक कार्यदिशा निर्माण गर्ने केन्द्रीय सदस्य एवं कास्की जिल्ला अध्यक्ष विक्रम थापाले जानकारी दिनुभयो । सम्मेलनको उद्घाटन अघि, चिप्लेढुड्डाबाट जुलुस सुरु भइ महेन्द्रपुल, भीमसेनचोक, नयाँबजार, लखनचोक, सभागृहचोक हुँदै पोखरा सभागृहमा पुगी सभामा परिणत भएको थियो ।

Advertisment