–भीमकुमारी पुनमगर ‘पुष्पा’
“ओ फूलमाया उठ छिटो, उज्यालो भइसक्यो, छिटो घाँस काटेर आइज ।”
“हुन्छ आमा”, आँखा मिच्दै शिशिर ऋतुको चिसो सिरेटोसँगै १४ वर्षीया फूलमाया डोको बोकेर घाँस काट्न जान्छे । उसलाई जाडो पनि भएको छ । पातलो स्वीटर लगाएकी छे । तल लामो पातलो फ्रक र तुना चँुडिएर चाउचाउको प्लाष्टिकले अड्याएको बाटाको चप्पल लगाएकी छे । उसले मनमनै सोंच्छे । “दादा पनि सँगै घाँस काट्न आएको भए कुरा गर्दै काट्न हुन्थ्यो । तर, के गर्नु पितृसत्तात्मक संस्कृतिमा हामी छौं भन्नुहुन्छ सरहरूले पढाउँदा” । ऊ कसैलाई केही भन्न सक्दिन ।
घाँस काटेर आउँछे । “दाजुलाई उठा छिटो । स्कूल जान ढिलो हुन्छ ।”, फेरि आमाको आवाज आउँछ । उनी दाजुलाई उठाएपछि दाजु बहिनी खाना खान थाल्छन् । आटो छ र सुकेको गुन्द्रुकको झोल र भट्ट । तर, उसलाई मिठो भएको छ, किनकि, ऊ भोकाएकी छे । दाजु बहिनी खाना खाएर दाजु स्कूलका लागि तयार हुन थाल्छ । फूलमाया भने जुठो भाँडा धोएपछि नाक मुख सफा गर्छे । नाकबाट कालो लेदो आउँछ । सफा गर्छे । किनकि, ऊ पढ्नमा अब्बल छे । टुकीको रोशनीमा पढ्दै गर्दा धुवाँ नाकमा परेको हुन्छ । यो दैनिकी नै हुने गर्छ ।
ऊ पनि दाजुको पछि पछि स्कूल लाग्छे । बाटोमा सीतालाई बोलाउँछे र सँगै स्कूल जान्छे । सीता एउटी दलित परिवारकी हुन्छिन् । परिवार उनलाई टाढा बस्न भनेतापनि फूलमायालाई भावना प्यारो लाग्छ । ऊ भावना मिल्ने साथीलाई छोड्न सक्दिन । उसलाई फरक पर्दैन, जाति व्यवस्थाप्रति । ऊ फुर्सदमा उनको घर जान्छे । र, कराहीमा बनाएकी कोदोको ढिंडो पछि आउने भाङ्ग्रा मागेर मज्जाले अगेनोको डिलमा बसेर खान्छे । सीताको बाबा बाहिर हुनुहुन्छ । आमाले असाध्यै माया गर्नुहुन्छ । तर, सासु आमाको अगाडि सीताकी आमा खोइ किन ? एकदम डराउँछिन् ।
एकदिन पूजाको टीका फूलमायालाई लगाउनु हुँदै थियो । र, मुस्कुराउँदै भन्नुभयो, “सधैं तिम्रा बालापनको जस्तै मानवीय भावना रहोस् । समाजले हेर्ने नजर भन्दा उच्चस्तरको तिम्रो नजर रहोस् धेरै जाति छन् यहाँ । र, धेरै पीडित जातिमध्ये एक महिला जाति पनि हो । सुहाउने टीका लायौ मुहार जुनेली मुस्का…” के भन्नुभएको थियो, सासु आमा आएपछि वाक्य नै अघि बढेन । फूलमायाले सोंची पितृसत्तात्मक नेपाली समाजले होला । अर्को वर्ष फूलमायाको विवाह गरिदिन्छन् । जबकि, दाजु पढ्दै छन् । भनिन्छ, घरमा छोरा मान्छे बिग्रिएपनि केही हुँदैन । छोरी बिग्रिए फेरि इज्जत जान्छ । घरको इज्जतलाई समयमै व्यवस्थापन गर्नु राम्रो । हजुर आमाको यो वचनलाई पनि पितृसत्तात्मक समाज भएर यस्तो भएको हो । ऊ सहर्ष स्वीकार्छे ।
ऊ पढाएको सपनाहरूलाई विवाहको मण्डपसँगै जलाउँछे । र, एउटी बुहारी छोरी श्रीमतीको कर्तव्यलाई निष्ठावान रुपमा निभाउँछे । निभाउँदा निभाउँदै ऊ राम्रोसँग सबैसँग समानतापूर्वक व्यवहार गर्न रुचाउँछे । उसलाई भनिन्छ, दलितले छोएको खाना नाखा । सँगै बसेर खाना नखा । जबकि, दलितद्वारा नै खेतीपाती गरेर अन्न सिरानीमा राखिन्छ । आखिर, त्यो पनि दलितले छोएको त हो । दलितले बोकेर ल्याएको चामल खाइन्छ, केही हुँदैन त । सँगै बसेर खाना खाँदा के हुन्छ ? मनमनै सोंच्छे । तर, नबोली नबोली दलितसँग पनि घुलमिल हुन्छे । उसलाई भनिन्छ, छोरा मान्छेसँग धेरै नबोल है । उसलाई लाग्छ, छोरा मान्छे र छोरी मान्छेमा के फरक छ ? व्यक्तिको सोंच विचार सही भएपछि लिङ्गले के हुन्छ र ? अनि बोल्ने मान्छे मान्छेसँग त हो, के हाम्रो भाषा गाईवस्तुले सुन्न सक्छ र ? ऊ बोल्छे सबैसँग समानतापूर्वक । एक दिन घरमा काम गर्दै गर्दा उनको श्रीमान रक्सी खाएर आउँछ । अनि उनलाई पिट्न थाल्छ । उनलाई थाहा छैन किन ? सायद श्रीमानलाई उनको त्यो मानवीय भावना मन परेनछ । पछि थाहा भयो आफ्नो जेठानी दिदीले नभाको कथा बनाएर देवरलाई सुनाएकी रहेछिन् ।
फूलमाया आर्थिक, नैतिक, वैचारिक, शारीरिक स्तरबाट धेरै दमनमा थिइ । ऊ बाँच्नु र मर्नुको दोसाँधमा थिइ । आत्महत्यालार्य पनि विकल्पमा लिइ । उसलाई यो स्वर्ग लाग्ने धर्ती नर्ग जस्तै लाग्न थाल्यो । जीवनका बाटाहरू साँघुरिए जस्तै लाग्न थाल्यो । धर्ती फाटे धर्ती भित्र घुस्थेँ, आकाश टुक्रिए, आकाशमुनि पर्थेँ । सारा जीवन र संसार अन्धकार लाग्न थाल्यो । आजभोली ऊ आफ्नो जीवनको भन्दा पनि जीवन साथीको दुव्र्यवहारले विक्षिप्त छे । तर, उसलाई ठ्याक्कै सीताकी आमाको याद आयो । “सधैं बालापनको जस्तै मानवीय भावना रहोस्, समाजले हेर्ने दृष्टिकोण भन्दा उच्चस्तरको तिम्रो नजर रहोस्, धेरै जातिमध्ये महिला पनि एउटा पीडित जाति हो, उत्थान गर्नू ।”
उसले सोंच्छे अब म चूप बस्न हुन्न । संघर्ष गर्छु । हिम्मत हार्दिनँ भनेर ऊ परिवारसँग झुकेर हुन्छ, सम्झाएर हुन्छ, काम गरेर हुन्छ कि ? ऊ परिवारको जञ्जिरबाट बाहिर निस्कने वातावरण बनाउँछे । र, समाजका अबला नारीको सहारा बन्न थाल्छे । उनी अब महिला सञ्जालकी अध्यक्ष बनेकी छन् । एक दिन बैठकमा एउटी छिमेकी महिला निर्मला आएर आफ्नो दुःख पोखिन् । श्रीमान्का शारीरिक, मानसिक यातना किनकि, उनको आर्थिक अवस्था कमजोर छ, छोरा जन्मिएको छ, उनी शिक्षित छिन्, उनी जागिर गर्न चाहन्छिन् । तर, श्रीमान् श्रीमती आफ्नो स्वाभिमानमा बाँचेको देख्न सक्दैनन् । उनी म स्वाभिमानी महिला बनेर बाँच्न चाहन्छु । छोराको भविष्यको लागि, राम्रो शिक्षाको लागि म जागिर गर्न चाहन्छु । भन्दै यसको लागि उचित वातावरण सृजनाको माग गर्दै गइन् ।
उनी जान नपाउँदै बीचमा एउटा सदस्य ऋतु बोलिन् ।
“हा..यो यस्तै छ, काम नगर भनेपछि खुरुक्क लागेर बस्नु नि । जसरी भएपनि खान पु¥याउँछ क्यारे बुढाले ऋण गरेर भएपनि, व्यर्थ आफैं उस्ती छे, त्यही भएर श्रीमान्ले पिट्छ । यस्ता मेल नभएको आईमाईलाई सहयोग गर्ने होइन ।” भनेर चड्किएको देख्छिन् । फूलमाया छाँगाबाट खसेसरि हुन्छिन् । र, मौन बस्छिन्, र, आफ्नो जीवन नियाल्दा र आज ऋतुको त्यो बोलीको शैली भाव बुझ्दा उनी दंग पर्छिन् ।
पितृसत्तात्मक पितृसत्तात्मक भनेर उफ्रियौं तर, यसको कारण सधैं पुरुषलाई मात्र थुपा¥यौं । वास्तवमा महिलालाई इतिहासको मातृसत्तात्मक परिवेशबाट आजको पितृसत्तात्मक परिवेशमा धकेल्ने विशेष भूमिका स्वयं महिलाकै रहेछ ।
मलाई दाजु र मेरो कामको भागबण्डा लगाउने आमा को हुनुहुन्थ्यो ? एक महिला
मलाई छिटो विवाह गरिदिने बज्यै को हुनुहुन्थ्यो ? एक महिला
सीताको आमाको आशीर्वाद बीचमै रोकिने कारण सासु को हुनुहुन्छ ? एक महिला
मेरो श्रीमानलाई कुरा लगाउने जेठानी को हुनुहुन्थ्यो ? एक महिला
आज विमलाको घाउमा मलम नबनी नुन बनेर चिच्याउने ऋतु को हुनुहुन्छ ? एक महिला
यति सोंच्दै गर्दा उनलाई लाग्यो, “हो केही पुरुषहरू माहिलाको दमन गरिरहन्छ ? एउटा साना नाबालिकादेखि वृद्धासम्मको महिलालाई यौन दुव्र्यवहार, बलात्कार, हत्या गर्छ, शारीरिक यातना दिन्छ भने अधिकांश महिलाहरू स्वयं महिलाको नै मानसिक असर पार्ने काम र शब्दबाट अर्थहीन बनाइदिने यस प्रचलनलाई स्वयं मनन गरेर जबसम्म रोकिँदैन । तबसम्म लैङ्गिक असमानता चलिरहन्छ ।” उनी चुपचाप कुनै प्रतिक्रिया विना घरतिर लागिन् ।
(फोनिज, गण्डकी प्रदेशद्वारा प्रकाशित स्मारिका–२०७८ मा प्रकाशित आलेख ।)