फोनिज, गण्डकी प्रदेश अध्यक्ष आस्थाद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

पोखरा, २३ कात्तिक
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरले आफ्ना छोरा शालीन घर्ती मगरको जन्मदिनका अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गर्नुभएको छ । पोखरा–१४, बाच्छेबुढुवामा अवस्थित वात्स्यायन वृद्धाश्रममा हाल १६ वृद्धा आश्रित छन् ।
उक्त अवसरमा सशस्त्र प्रहरी बल, कालिका गण पोखराका गणपति प्रहरी उपरीक्षक जनक बस्नेतले वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई सहयोग गर्नु सबैको दायित्व भएको र आगामी दिनमा आफ्नोतर्फबाटसमेत सहयोग गर्ने जानकारी दिनुभयो । वृद्धाश्रमका संस्थापक अध्यक्ष गोकर्ण कार्कीले हालसम्म सरकारी सहयोग नपाएको र विभिन्न व्यक्तिको सहयोगबाट नै वृद्धाश्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
विशेषगरी, पछिल्लो समय वृद्धाश्रममा जन्मदिन मनाउने बढी मात्रामा आउने गरेको जनाउँदै उहाँले वृद्धाश्रममा सहयोग गर्ने दाताकै कारण वृद्धाश्रममा केही कुराको कमी नरहेको बताउनुभयो । सञ्चारकर्मी एमबी आस्थाले अहिले विभिन्न क्लब तथा रेष्टुरेण्टमा गएर जन्मदिन मनाउने प्रचलन बढ्दो मात्रामा रहेको र यस्ता फजुल खर्चलाई केही भए पनि सामाजिककार्यमा लगाउन सके पुण्य प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
उक्त अवसरमा वृद्धाश्रमका अध्यक्ष बोधराज कार्की, उपाध्यक्ष रेशम जिसी, सचिव ललित बानियाँलगायतले समाजसेवामा जुट्न आह्वान गर्नुभएको थियो । यसैबीच, समाजसेवी टीकाकुमारी गुरुङले आफ्नो जन्मदिनका अवसरमा वृद्धाश्रमलाई १० हजार १०० रुपैयाँ प्रदान गर्नुभएको छ । उक्त रकम वृद्धाश्रमका अध्यक्ष कार्कीलाई उनका पति मुनेश थापासहित गुरुङले हस्तान्तरण गर्नुभएको थियो ।

Advertisment