सुशासनका लागि नागरिक समाज (सुनास), कास्कीको १५ औं वार्षिक साधारणसभा सम्पन्न

पोखरा, २३ असोज
भ्रष्टाचारविरुद्ध काम गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल आबद्ध संस्था सुशासनका लागि नागरिक समाज (सुनास), कास्कीको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार सम्पन्न साधारणसभाले सचिव विष्णुप्रसाद अधिकारीले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष विश्वमोहन अधिकारीले प्रस्तुत गरेको आर्थिक प्रगति प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
यसअघि, साधारणसभाको उद्घाटन गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्व उपाध्यक्ष आनन्दराज मुल्मीले देश सुशासनबाट च्यूत हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । देशमा सुशासनको अभावमा धेरै प्रश्न जन्मिएको उल्लेख गर्दै मुल्मीले नियमनकारी निकाय समेत खराब अवस्थामा पुग्नु दुर्भाग्य भएको बताउनुभयो ।
आर्थिक अनुशासन हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले न्याय दिने ठाउँमा समेत किनबेच हुन थालेको बताउनुभयो । सुनासले जनस्तरमा सुशासनबारे सचेतना जगाउनुपर्ने भन्दै मुल्मीले आफ्ना मौलिक कार्यक्रम अघि बढाउन समेत सुनासलाई आग्रह गर्नुभयो ।


सुनास, कास्कीका संस्थापक अध्यक्ष अधिवक्ता सुरेन्द्र थापामगरले सत्ताबाहिर रहँदा भ्रष्टाचारविरोधी कुरा गरेपनि सत्तामा पुगेपछि जुनसुकै दल पनि भ्रष्टाचारमा लिप्त हुनु विडम्बना भएको बताउनुभयो । भ्रष्टाचार नियन्त्रणका लागि पहिले आफू ठिक हुनुपर्ने भन्दै उहाँले राज्यको प्रमुखबाट भ्रष्टाचार अन्त्यको सुरुवात गरिनुपर्ने धारणा राख्नुभयो । त्यस्तै, सुनास, कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेलले सुनासले आफ्ना गतिविधि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै सुशासनका लागि सम्बन्धित पक्षलाई निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।
सुनास, कास्कीका अध्यक्ष रवीन्द्रनाथ बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विष्णुप्रसाद अधिकारी र उपाध्यक्ष श्यामनाथ कुँवरले स्वागत गर्नुभएको थियो ।

Advertisment