पोखरा, ४ भदौ
नेपाल मार्शल आर्टस् हाप्किडो संघले देशैभरिका दुई हजार खेलाडीलाई पोखरामा उतार्ने भएको छ । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, गण्डकी प्रदेशको आयोजनामा फागुनको दोश्रो साता हुने “छैठौं राष्ट्रिय हाप्किडो च्याम्पियनसिप २०७८” मा देशैभरिका दुई हजार खेलाडी पोखरा आउने भएका हुन् । फागुन १३ देखि १६ गते सम्म पोखरा रंगशालामा आयोजना हुने प्रतियोगितामा फाइट तर्फ महिला र पुरुष दुवै तर्फ १० तौल समूहमा प्रतिस्पर्धा हुने नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, गण्डकी प्रदेशकी उपाध्यक्ष तथा प्रदेश खेलकुद परिषदकी कार्यकारी सदस्य तारामाया थापामगरले जानकारी दिनुभएको छ । प्रतियोगितामा २०–२५, २५–३०, ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५, र ६५–७० गरी १० तौल समूहमा प्रतिस्पर्धा हुने ।
पोखरामा शुक्रबार आयोजित पत्रकार भेटघाटमा प्रतियोगिताको प्रत्येक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कारको व्यवस्था गरिएको संघले जनाएको छ । यस्तै, सेल्फ डिफेन्स, डेमोन्स्ट्रेसन, हाई फल र लङ फलमा पनि प्रतिस्पर्धा हुने कार्यक्रमकी संयोजक समेत रहेकी मगरले बताउनुभयो ।
खेलाडीलाई आवाश तथा सम्पूर्ण सुविधाहरु निशुल्क गरिएको संघका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगरले जानकारी दिनुभयो । करिव एक करोड खर्च अनुमान गरिएको उक्त प्रतियोगितामा नेपाली हाप्किडोका खेलाडीलाई फेरी सक्रिय बनाउन प्रतियोगिता महत्वपूर्ण साबित हुने विश्वास रहेको साउथ एशिया हाप्किडो फेडेरेशनका अध्यक्ष समेत रहेका मगरले बताउनुभयो । उहाँले भन्नुभयो–“नेपालमा पछिल्लो समयमा कोरोना महामारीले संघको गतिविधिलाई प्रभावित बनायो,” उहाँले भन्नुभयो–“खेलाडीको स्तर वृद्धि गर्दै यसबाट पार पाउन र सक्रिय हुन हामीले यो प्रतियोगिता आयोजनाको तयारी गरेका छौ, प्रतियोगिता सफल बनाउन हामी पोखरेली सबैलाई आह्वान गर्दछौ ।”
कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले पछिल्लो समयमा हाप्किडो खेलको विकासले तीव्रता पाएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले हाप्किडो खेललाई नवौं राष्ट्रिय खेलकुदमा समेत समावेश गराउन आफ्नो तर्फबाट पहल गर्ने बताउँदै प्रशिक्षणका लागि पोखरा रंगशालामा समेत स्थान उपलव्ध गराउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
सो अवसरमा संघका गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरले प्रतियोगिताले पोखराको आन्तरिक तथा बाह्य पर्यटनमा सहयोग पुग्ने भएकोले प्रतियोगिता सफल बनाउन सबैको सहयोगका लागि आह्वान गर्नुभयो । उहाँले भन्नुभयो–“पर्यटकीय नगर पोखरामा आयोजना हुने प्रतियोगिताले यहाँको आन्तरिक र वाह्य पर्यटन विकासमा पनि टेवा पुग्ने मात्रै नभई नेपाली हाप्किडो खेलको विकासमा समेत सहयोग पुग्ने विश्वास लिएका छौ ।”
संघले खेलकुद मार्फत युवाहरूलाई सकारात्मक सोच, शैक्षिक जागरण, अनुशासन, स्वस्थ, खेलप्रति समर्पित, योग्य, सक्षम, सबल र सफल युवा खेलाडी बनाउन अघि बढेको जनाइएको छ । हाप्किडो खेललाई राष्ट्रिय गौरवसँग जोड्दै प्रतियोगिता र सेमिनारको आयोजना गर्दै आइरहेको जनाउँदै युवाहरूको शारीरिक र मानसिक विकास गर्नमा यो प्रतियोगिता सहयोगी हुने भन्ने विश्वास लिएको छ । हाप्किडोको केन्द्रीय संघले खेललाई नेपालको ग्रामीण क्षेत्रमा बिस्तार गर्दै व्यापक बनाउन प्रयास गर्दै आएको जनाएको छ ।