पत्रकार गुरुङ र रानालाई कञ्चन पत्रकारिता पुरस्कार

पोखरा, २७ साउन
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २२ औं स्थापना दिवसको अवसरमा पोखरामा २ जना पत्रकार पुरस्कृत भएका छन् । फोनिज गण्डकी प्रदेशको आयोजनामा मंगलबार पोखरामा आयोजित कार्यक्रममा पोखराकी पत्रकार शान्ति गुरुङ र नवलपुरका पत्रकार केबि रानामगर ‘कञ्चन पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्कबहादुर कुमाल, पुरस्कारदाता विमलमान गुभाजू, फोनिज गण्डकी प्रदेश अध्यक्ष एमबी आस्था मगरलगायतले नगद २५÷२५ हजारसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । आदिवासी जनजातिको भाषा, कला र संस्कृतिको क्षेत्रमा कलम चलाएबापत पुरस्कृत गरिएको फोनिज गण्डकी प्रदेशले जनाएको छ ।
सम्मानित गुरुङ लामो समयदेखि रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखरमा कार्यरत छिन् । उनी पत्रकारितासँगै गायन क्षेत्रमा पनि सक्रिय छिन् । सामाजिक भावनाकी गुरुङ विभिन्न संघ संस्थामा विभिन्न पदमा रहेर काम गरिहनुभएको छ । नवलपुरका रानासँग रेडियो नेपाल, कान्तिपुर टिभी, नागरिक दैनिकलगायत दर्जनौं मिडिया हाउसबाट कार्य अनुभव संगाल्नुभएको छ । मध्य नेपालमै पहिलो स्थानीय टेलिभिजन देवचुली टेलिभिजनको संस्थापक, सामुदायिक रेडियो मध्यविन्दु एफएमको संस्थापक तथा तथा स्टेशन संयोजक तथा सल्लाहकारलगायत धेरै सामाजिक संस्थामा विभिन्न पदमा रहेका काम गरिरहनुभएको छ ।
सम्मानित भएपछि पत्रकारद्वय गुरुङ र रानाले पुरस्कारले पत्रकारिताको क्षेत्रमा कलम चलाइरहन थप हौसला प्रदान गरेको बताउनुभयो । साथै उहाँहरुले जीवनपर्यन्त कलम चलाइरहने वाचासमेत गर्नुभयो । रानाले पुरस्कारबापत पाएको २५ हजारमा त्यति नै रकम थपेर आफ्नी छोरीको स्मृतिमा सहयोग गर्ने घोषणा गर्नुभएको छ । उहाँकी ५ महिने छोरीको निधन भएको थियो । उक्त रकम कोरोनाबाट ज्यान गुमाएका तथा पीडित बालबालिका तथा परिवारलाई सहयोग गर्ने बताउनुभएको छ ।
पोखराका व्यवसायी तथा समाजसेवी विमलमान गुभाजुसहित उहाँको परिवारले पिता स्वर्गीय वेदमान गुभाजू र माता नेत्रकुमारी गुभाजूको स्मृतिमा पुरस्कार स्थापना गरिएको पुरस्कार दोस्रो पटक अर्पण गरिएको हो । कार्यक्रममा गुभाजु परिवारले पुरस्कारका लागि थप १ लाख अक्षय कोषमा थप्ने घोषणा गरे । अब पुरस्कारको अक्षयकोष ७ लाख पुगेको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको सम्पत्ति आदिवासी जनजाति, धर्म, संस्कृति प्रदेशको गहना भएका कारण विशेष रुपमा स्थान दिइएको बताउनुभयो । प्रदेशमा भएका धर्म संस्कृतिलाई समेट्दै धार्मिक पर्यटनमा जोड दिएको उहाँको भनाइ थियो । गुरुङ जातिको उद्गम थलो क्होंलासोंथर, लिगलिगकोटजस्ता महत्वपूर्ण स्थानहरुलाई विश्व सम्पदा सूचीमा राख्न पहल भइरहेको उहाँले जनाउनुभयो । आदिवासी जनजाति पक्षबाट आउने सुझावलाई सकारात्मक रुपमा लिँदै त्यसैको आधारमा अगाडि बढ्ने उहाँको भनाइ थियो ।
फरक प्रसंंगमा प्रदेशको विकास निर्माण र समृद्धिका पाटाहरु केही समय थाती राखेर जनताको स्वास्थ्यमा प्रदेश सरकार लागिपरेको उहाँको धारणा थियो । पहिलो चरणमा निशुल्क खोपका लागि बजेट छुट्याए पनि सिधैं प्रदेशले खोप ल्याउन पाउने अधिकार नभएका कारण सम्भव नभएको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । तथापि संघ सरकारसँग समन्वय गरी प्रदेशका जनतालाई पूर्ण खोप सुनिश्चित बनाउने अभियान जारी रहेको उहाँको भनाइ छ ।
मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कुमालले पुरस्कृत व्यक्तित्वलाई बधाई दिँदै फोनिजलाई यस्तो किसिमको कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो । प्रदेश सरकारसँग धेरै अपेक्षा अनुरोध भए पनि पूरा गर्न गाह्रो हुने उहाँको धारणा थियो । प्रदेश सरकारले फोनिज गण्डकीका लागि ५ लाख रुपैयाँ रातो किताबमा राखेकोमा खुसी व्यक्त गर्नुभयो । रकम सानो भए पनि सिड मनीको रुपमा राखेर राम्रा राम्रा कार्यक्रम ल्याउन सके पछिल्ला दिनमा सहज उनको उहाँले बताउनुभयो । यो पटक रातो किताबमा राखिएको शीर्षक आगामी वर्षहरुमा कुनै पनि सरकारले कुनै पनि बहानामा हटाउन नसक्ने उहाँको भनाइ थियो ।
नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीले पत्रकार महासंघ र फोनिज सँगसँगै रहेको बताउनुभयो । स्थानीय, प्रदेश र केन्द्र सरकारले आदिवासी जनजाति, महिला, बालबालिकाका लागि बजेट छुट्याउन हात कमाउन नहुने धारणा व्यक्त गर्नुभयो । आदिवासी जनजातिको मुद्दालाई साझा मुद्दा बनाएर आवाज उठाउन नेपाल पत्रकार महासंघ फोनिजसँगै रहेको उहाँले बताउनुभयो ।
फोनिज, गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा भएको कार्यक्रममा फोनिज गण्डकी प्रदेशका इञ्चार्ज हुमबहादुर गुरुङले पुरस्कृत व्यक्तित्वद्वयको परिचय दिँदै फोनिजको स्थापनाको औचित्यमाथि प्रकाश पार्नुभयो । फोनिज गण्डकी प्रदेशका उपाध्यक्ष दिल शिरीषले पुरस्कारदाताको सहयोगी मनकै कारण पुरस्कार सम्भव भएको बताउनुभयो । पछिल्लो समय पुरस्कारको अस्वस्थ प्रतिस्पर्धाका बिच फोनिजले पुरस्कारलाई कुनै त्रुटि बिना सञ्चालन गरेको उनको भनाइ थियो । फोनिज गण्डकी प्रदेशका महासचिव रूद्र श्रीसमगरले फोनिजको स्थापना दिवसमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा आदिवासी जनजातिको मुद्दामा पत्रकारहरु खरो रुपमा लाग्नुपर्ने धारणा राख्नुभयो ।

Advertisment