पोखरा, २३ साउन
नेपाल मगर संघ, कास्कीको भवन पुनर्निर्माणका लागि हङकङनिवासी समाजसेवी चन्द्रबहादुर श्रीस (पुन)मगरले आर्थिक सहयोग गर्नुभएको छ ।
भारतीय गोर्खा भूतपूर्व सैनिक संघ, हङकङका उपाध्यक्ष समेत रहनुभएका समाजसेवी श्रीसमगरले मगर संघ, कास्कीको भवन पुनर्निर्माणका लागि ५० हजार ५० रुपैयाँ नगद सहयोग गर्नुभएको हो । सो रकम शनिबार मगर संघ, कास्कीमा आयोजित एक कार्यक्रमका बीच सहयोगदाता श्रीसकी आमा तिलकुमारी श्रीसमगरले मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँकी बहिनी ईशा मगर पनि उपस्थित हुनुहुन्थ्यो ।
सहयोगका लागि धन्यवाद दिँदै अध्यक्ष पुनमगरले श्रीसमगर जस्तै मनकारी व्यक्तित्वहरूको सहयोगले मगर संघ, कास्कीको भवन पुनर्निर्माण कार्यले सफलता प्राप्त गर्ने भनाइ राख्नुभयो । मगर संघ, कास्कीको संस्थागत विकासका लागि आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै अध्यक्ष पुनमगरले आगामी दिनमा पनि संघले निरन्तर सहयोगको अपेक्षा गरेको बताउनुभयो । अग्रजहरूको योगदानले मगर संघ, कास्कीलाई यहाँसम्म ल्याइपु¥याउन सफल भएको भन्दै उहाँले प्राप्त सहयोग अतुलनीय रहेको उल्लेख गर्नुभयो ।
त्यस्तै, मगर संघ, कास्कीकी उपाध्यक्ष बुद्धिमाया थापामगरले सामाजिक कार्यमा सबैको हातेमालो आवश्यक रहेको भन्दै एक थुकी सुकी, सय थुकी नदी भनेझैं सबैको सहयोग जुटाउन आफूहरू लागिपरेको बताउनुभयो । सचिव रामबहादुर थापामगरले आर्थिक सहयोगका लागि श्रीसमगरलाई धन्यवाद दिँदै उहाँलाई मगर संघ, कास्कीको संरक्षकका रुपमा सम्मान गरिने जानकारी दिनुभयो । त्यसैगरी, जिल्ला सदस्य देउकुमारी थापामगरले आर्थिक सहयोग संकलनका लागि आफूले देश तथा विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरू पहल गरेको जनाउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
यसैबीच, मगर संघ, कास्कीका संस्थापक उपाध्यक्ष इन्द्रबहादुर गर्बुजामगरले पनि मगर संघ, कास्कीको भवन पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको छ । उहाँले ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको अध्यक्ष संगीता पुनमगरले जानकारी दिनुभयो ।