युवा तथा खेलकुद मन्त्री गुरुङद्वारा हाप्किडो खेलाडीलाई खेल पोशाक प्रदान

पोखरा, ८ साउन
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले हाप्किडो खेलाडीलाई खेल पोशाक प्रदान गर्नुभएको छ ।
गत वैशाखमा सम्पन्न मार्शल आर्ट हाप्किडो नेशनल च्याम्पियनसिपमा गण्डकी प्रदेशबाट बिजेता खेलाडीलाई हौसला स्वरुप खेल पोशाक (ट्रयाक शुट) तथा प्रमाणपत्र वितरण गर्दै उक्त कुरा बताउनुभएको हो । खेलाडीलाई स्वरोजगारतर्फ आकषर्ण गर्दै जिविकोपार्जन गर्ने वातावरण तयार नर्गदा सम्म खेलकुदको विकास सम्भव नहुने मन्त्री गुरुङले बताउनुभयो । वर्तमान प्रदेश सरकारको मन्त्रिपरिषदमा खेलकुद बुझेको र माया गर्ने कोही पनि नभएको जिकिर गर्दै आर्थिक वर्ष २०७८/०७९ को वजेटमा आफूले अघि सारेका धेरै योजनाहरु काटिएको बताउनुभयो । उहाँले आफूले पोखरा रंगशालामा अघि सारेको योजना मध्येको मार्शल आर्ट कम्प्लेक्सलाई पूरा गर्न आफूले प्रयास गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
मन्त्री गुरुङले खेलकुदलाई शिक्षा र कृषिसँग समेत जोड्नु पर्ने उत्तिकै अपरिहार्य रहने कुरामा जोड दिँदै प्रदेश अन्तर्गत आउने खेल प्रशिक्षकहरुले विशेष गरी सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गर्दै खेल प्रशिक्षण दिने वातावरण बनाउनेतर्फ खेल प्रशिक्षकहरुलाई अग्रसर गराइने बताउनुभयो । उहाँले युवाहरुलाई कृषितर्फ आकर्षित गर्दै उनीहरुका उत्पादनको बजारीकरणका लागि पनि मन्त्रालयले योजनाहरु अघि सारेको बताउनुभयो ।
मन्त्री गुरुङले पोखरा रंगशालामा निर्माणाधिन प्रदेश खेलकुद परिषद्को प्रशासनिक भवन र शौचालयको समेत निरीक्षण गर्नुभएको थियो । तेस्रो पटक प्रदेश सरकारको तर्फबाट यूवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री गुरुङलाई पोखरा रंगशालामा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, प्रखेपका सदस्यहरु, जिल्ला खेलकुदका अध्यक्ष तथा सदस्यहरु, प्रदेश हाप्किडोका अध्यक्ष तथा पदाधिकारीहरु, खेलाडी, प्रशिक्षक र कर्मचारीहरुले स्वागत गरेका थिए ।
गत वैशाखको पहिलो साता काठमाडौंमा सम्पन्न चौथो हाप्किडो नेसनल च्याम्पियनसिपमा गण्डकी प्रदेशले तेश्रो स्थान प्राप्त गरेको थियो । उक्त पतियोगितामा राजकुमार परियारले स्वर्ण, मन्दिप विकले स्वर्ण, कृति गिरीले स्वर्ण, मोनालिसा मल्लले स्वर्ण, अञ्जना परियारले स्वर्ण, सोयल खान, विकिसा गुरुङ र सुशान्त परियारले कास्य पदक जितेका थिए ।

Advertisment