गोर्खा स्मारक ट्रष्टद्वारा रिहानाको उपचारका लागि उठेको रकम हस्तान्तरण

फेदीखोला (स्याङ्जा), १० असार
ब्रेन ट्युमर भइ उपचारका क्रममा ज्यान गुमाएकी नौ वर्षीया बालिका रिहाना पुनको उपचारका लागि संकलन भएको रकम ५ लाख ६९ हजार ३ सय ७० रुपैयाँ बुधबार बालिका रिहानाका बाबु आमालाई हस्तान्तरण गरिएको छ ।
बागलुङको गलकोट नगरपालिका वडा नं. ११, रिघा, मनेवानिवासी अमरबहादुर पुन र छमकली पुनको छोरी नौ वर्षीया बालिका रिहानाको उपचारका लागि गोर्खा स्मारक ट्रष्ट, नेपालले बेलायतमा २ लाख ६९ हजार ३ सय ७० रुपैयाँ संकलन गरेको थियो । त्यस्तै, देश तथा विदेशका शुभेच्छुकहरूबाट संकलित रकममध्ये खर्च कटाएर बचेको ३ लाख रुपैयाँ गरी ५ लाख ६९ हजार ३ सय ७० रुपैयाँ रकम मृतक बालिकाका बुबा आमालाई हस्तान्तरण गरिएको हो ।
गोर्खा स्मारक ट्रष्ट, नेपालका कार्यवाहक अध्यक्ष आनबहादुर गुरुङ, सह–सचिव जंगबहादुर गुरुङ र गोर्खा स्मारक ट्रष्ट, बेलायतका कोषाध्यक्ष तिलबहादुर गुरुङले ट्रष्टको पहलमा संकलित रकम हस्तान्तरण गर्नुभएको थियो भने अन्य देश तथा विदेशका नेपालीहरूबाट संकलित रकम ३ लाख रुपैयाँ अभियन्ता कृष्ण काउचाले हस्तान्तरण गर्नुभएको थियो ।
ब्रेन ट्युमर भएपछि पोखराको फेवासिटी अस्पतालमा उपचार गराइरहेकी बालिका रिहानाको थप उपचारका लागि लेकसिटी अस्पतालमा सारिएको थियो । आर्थिक रुपमा कमजोर पारिवारिक पृष्ठभूमि भएका बालिका रिहानाको उपचारका लागि देश तथा विदेशबाट सहयोग संकलन सुरु गरिएपनि उनलाई बचाउन नसकिएको अभियान संयोजक निर्मला घर्ती पुनले जानकारी दिनुभयो । अभियन्ता कृष्ण काउचा, निर्मला घर्ती पुन र सृष्टि पुनलगायतको पहलमा सुरु गरिएको अभियानमा रिहानाको उपचारका लागि विभिन्न संघसंस्था र व्यक्तिहरूले सहयोग गरेका थिए ।

Advertisment