पहिलोपटक आयोजना गरिएको ग्राण्ड डायमण्ड मेला सकियो

पोखरा, १० वैशाख
कञ्चन क्यापिटल प्रालिको आयोजनामा नयाँ वर्षको अवसर पारी गत आइतबारदेखि गण्डकी प्रदेशमै पहिलोपटक सुरु भएको ग्राण्ड डायमण्ड मेला शुक्रबार सम्पन्न भएको छ ।
पोखरा–३, तेर्सापट्टीस्थित पञ्चरत्न आभूषण प्रालिमा मेला सुरु भएको हो । मेलामा हिराका विभिन्न गरगहनासहितको स्टल राखिएको थियो । वैशाख १० गतेसम्म सञ्चालन हुने मेलामा आउने ग्राहकका लागि १ लाख रुपैयाँसम्म ३० प्रतिशत र १ लाख भन्दा माथिको खरिदमा ४० प्रतिशतसम्म छुट राखिएको थियो ।
कञ्चन क्यापिटल प्रालिका अध्यक्ष विमल गुभाजूले मेलामा ग्राहकको उपस्थिति उत्साहजनक रहेको बताउँदै मेलालाई आगामी दिनमा पनि निरन्तरता दिने सोंच बनाएको बताउनुभयो । हिराका गरगहनाप्रति ग्राहकको आकर्षण बढेको भन्दै अध्यक्ष गुभाजूले मेलाले हिराका गरगहनाको कारोबारलाई थप टेवा पुग्ने विश्वास लिएको बताउनुभयो । पञ्चरत्न आभूषण प्रालिका सञ्चालक सोभितमान बुद्धाचार्यले मेलामा ग्राहकहरूको उपस्थितिले आफूहरू उत्साहित भएको बताउनुभयो । पहिलोपटक मेलाको आयोजना गर्दा ग्राहकको राम्रो प्रतिक्रिया पाएको बताउँदै उहाँले समग्रमा मेला सफल भएको उल्लेख गर्नुभयो ।
मेलालाई क्रिस कञ्चन ज्वेलरी प्रालि र कञ्चन ज्वेलर्स प्रालिको साथ रहेको थियो भने मेलाका पार्टनरहरूमा कञ्चन पीएम ज्वेलर्स प्रालि, कञ्चन आभूषण प्रालि, बुद्धाचार्य आभूषण प्रालि, कञ्चन सिल्भर प्रालि र बज्राचार्य आभूषण सेन्टर प्रालि रहेका थिए ।

Advertisment