पोखरामा पहिलोपटक ग्राण्ड डायमण्ड मेला सुरु

पोखरा, ५ वैशाख
कञ्चन क्यापिटल प्रालिको आयोजनामा नयाँ वर्षको अवसर पारी आइतबारदेखि गण्डकी प्रदेशमै पहिलोपटक ग्राण्ड डायमण्ड मेला सुरु भएको छ ।
पोखरा–३, तेर्सापट्टीस्थित पञ्चरत्न आभूषण प्रालिमा मेला सुरु भएको हो । मेलामा हिराका विभिन्न गरगहनासहितको स्टल राखिएको छ । वैशाख १० गतेसम्म सञ्चालन हुने मेलामा आउने ग्राहकका लागि १ लाख रुपैयाँसम्म ३० प्रतिशत र १ लाख भन्दा माथिको खरिदमा ४० प्रतिशतसम्म छुट समेत राखिएको छ ।
मेलामा सहभागी नेपाल सुनचाँदी व्यवसायी महासंघ, गण्डकी प्रदेशका अध्यक्ष चन्द्रकिशोर गौतमले सुनचाँदी र हिराका गरगहना कारोबार दृष्टिले पोखरा आकर्षक बजार भएको बताउनुभयो । सुनचाँदीजस्तै हिरा, जुहारत सञ्चितीका लागि समेत नेपाल राष्ट्र बैंकले आवश्यक नीति नियम बनाउनुपर्ने बताउनुभयो । मेलाले पोखरामा पनि हिराका गरगहनाप्रतिको आकर्षण बढ्दो छ भन्ने प्रमाणित गरेको उहाँले उल्लेख गर्नुभयो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघ, कास्कीका अध्यक्ष राजेशमान बुद्धाचार्यले हिरा सुनभन्दा केही महंगो मात्र भएको बताउनुभयो । विवाहमा हिराका गहना दिने चलन समेत बढेको भन्दै उहाँले हिराका गरगहनाका लागि काठमाडौं नै जानुपर्ने अवस्था अन्त्य भएको बताउनुभयो । त्यस्तै, महासंघ, कास्कीका संस्थापक अध्यक्ष महेन्द्रमान गुभाजूले पछिल्लो समय हिरामा आकर्षण बढेको बताउनुभयो । सुन चाँदीजस्तै हिरालाई पनि बैंकमा राख्नुपर्ने भन्दै उहाँले अरु देशमा हिरालाई बैंकमा राखेर कारोबार गर्ने गरेको बताउनुभयो ।
पञ्चरत्न आभूषण प्रालिका सञ्चालक सोभितमान बुद्धाचार्यले मेलामा ग्राहकहरूको उपस्थितिले आफूहरू उत्साहित भएको बताउनुभयो । पहिलोपटक मेलाको आयोजना गर्दा ग्राहकको राम्रो प्रतिक्रिया पाएको बताउँदै उहाँले मेलाको अवसरमा छुट पनि पाइन्छ भन्ने ग्राहकलाई सन्देश गएको उल्लेख गर्नुभयो । काठमाडौंबाट आएकी ग्राहक अनुसूया श्रेष्ठले पोखरामा पनि हिराको गहनाको पसल छ भन्ने थाहा नभएको बताउँदै मेलामा काठमाडौंमा जस्तै सुपथ मूल्यमा हिराको गहना पाएको बताउनुभयो । मेलामा पाएको हिराका गहनाको भाउ आफूलाई चित्त बुझेको उहाँको भनाइ छ ।
वैशाख १० गतेसम्म सञ्चालन हुने मेलालाई क्रिस कञ्चन ज्वेलरी प्रालि र कञ्चन ज्वेलर्स प्रालिको साथ रहेको छ भने मेलाका पार्टनरहरूमा कञ्चन पीएम ज्वेलर्स प्रालि, कञ्चन आभूषण प्रालि, बुद्धाचार्य आभूषण प्रालि, कञ्चन सिल्भर प्रालि र बज्राचार्य आभूषण सेन्टर प्रालि रहेका छन् । ग्राण्ड डायमण्ड मेलाले पोखरा र गण्डकी प्रदेशमा हिराप्रति ग्राहकको आकर्षण बढाउने अपेक्षा गर्न सकिन्छ ।

Advertisment