गृहमन्त्री बादलद्वारा हाप्किडोको राष्ट्रिय च्याम्पियनसीपको उद्घाटन

काठमाडौं, ४ वैशाख
नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसीएसनको चौथो राष्ट्रिय च्याम्पियनसीप शनिबारदेखि सुरु भएको छ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शनिबार प्रतियोगिताको उद्घाटन गर्नुभयो । सो अवसरमा विशिष्ट अतिथि युवा तथा खेलकुद मन्त्री दावा तामाङ, राष्ट्रिय खेलुकद परिषद्का सदस्य सचिव रमेश सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल मगर संघका केन्द्रिय अध्यक्ष तथा नेकपा (एमाले)का केन्द्रिय सदस्य नबीन रोका मगर तथा नेकपा (एमाले) गण्डकी प्रदेश सह–इञ्चार्ज लीलाबहादुर थापाको पनि उपस्थिति थियो ।
सो अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल सितेरियो कराते संघका प्रवक्ता ईश्वर खपांगी, नेपाल रग्वी संघका महासचिव चेतनराज गिरी, राष्ट्रिय खेलकुद परिषद्को कानून शाखा प्रमुख नारायण अर्याल र राष्ट्रिय टिम तयारी समितिका संयोजक महेन्द्र राई लगायतको उपस्थिती थियो ।


कार्यक्रममा बोल्दै गृहमन्त्री बादलले हाप्किडो एसोसिएसनको सक्रियताको सराहना गर्दै प्रतियोगिताको सफलताको कामना गर्नुभयो । यसैगरी, मन्त्री तामाङले हाप्किडोको विकासमा आफू लागी पर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । सदस्य सचिव सिलवालले हाप्किडोको विकासमा आफ्नो सहयोग रहने बताउनुभयो । त्यस्तै, एमाले नेता थापाले नेपाली खेलकुदमा हाप्किडो प्रभावशाली खेलको रुपमा स्थापित हुने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसीएसन तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्ती मगरले हाप्किडो खेलले नेपालको स्वास्थ्य, शैक्षिक, राजनीतीक, सामाजीक, र आर्थिक विकासमा सहयोग गरेको बताउनुभयो । साथै, उहाँले गरीबीका कारण शिक्षा र खेलकुदबाट टाढा रहेकालाई पनि हाप्किडोले सहयोग गरिरहेको बताउनुभयो । कार्यक्रम एसोसीएसनका महासचिव सुवर्ण बीसीले सञ्चालन गर्नुभएको थियो । एसोसिएसनका बागमती प्रदेश अध्यक्ष जीवन थापामगरले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । खेलकुद प्रशिक्षण केन्द्र हल लैनचौरमा सञ्चालित तीन दिने प्रतियोगितामा सात प्रदेशका ७०० खेलाडीको सहभागिता रहेको छ ।

Advertisment