पत्रकार गाहा कास्कीमा जारी स्क्वासको फाइनलमा

पोखरा, २ वैशाख
पत्रकार अर्जुन गाहा मगर पोखरामा जारी प्रथम एसआरए स्क्वास प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
स्क्वास ¥याकेट्स एशोसिएसन कास्कीद्वारा आयोजित प्रतियोगिताको समूह ‘बी’ अन्तर्गत पोखरा रङ्गशाला स्क्वास कोर्टमा आज (बिहिबार) सम्पन्न पहिलो सेमीफाइनल खेलमा विष्णुहरिलाई ४–१ सेटले पराजित गर्दै एबीसी न्यूज टेलिभिजन र ताण्डव न्यूज डटकममा कार्यरत पत्रकार गाहा मगर फाइनलमा प्रवेश गरेका हुन् ।
आयोजकका अनुसार खेलको पहिलो सेट गाहा मगरले ११–४, दास्रो सेट ११–२ को नतिजा सहित जित निकालेका थिए । तेस्रो सेटमा भने विष्णुहरीले खेल सुधार्दै ५–११ अङ्क सहित जिते । प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा फेरी पत्रकार अर्जुन गाहाले ११–९ सहित जीत निकाल्दै फाइनल प्रवेश गरेका थिए । यसअघि, उनले विश्व विजुक्छे र जीवन श्रेष्ठ दुवैलाई ३–१ को सोझो सेटमा पराजित गरेका थिए ।
स्क्वास ¥याकेट्स एशोसिएसन कास्कीले नव वर्ष २०७८ को आगमनसँगै १ गते देखि आयोजना गरिएको सो प्रतियोगिताको फाइनल ३ गते ३ बजे हुनेछ । समुह ‘बि’ तर्फको उपाधिका लागि गाहामगरसँग फाइनलमा प्रतिस्पर्धा गर्नका लागि विपक्षी पोलको क्वाटरफाइनल र सेमीफाइनल खेल हुन बाँकी छन् । उक्त खेलहरु र फाईनल शुक्रबार नै सम्पन्न गरिने आयोजकले जनाएको छ ।
महिलातर्फ उपाधि करिश्मालाई
महिलातर्फको खेल भने बिहीबार नै सम्पन्न भएको छ । फाइनलमा सलिनीलाई २–० को सोझो सेटले पराजित गर्दै करिश्मा ओली च्याम्पियन बनिन् । बेष्ट अफ थ्रीमा सम्पन्न फाईनल खेलमा ओलीले पहिलो र दोस्रो दुवै सेट ११–४ को अङ्क सहित हराएकी थिइन् । समुह ‘ए’ तर्फ भने क्वाटरफाईनलका खेल जारी रहेको आयोजकले जनाएको छ ।

Advertisment