नयाँ वर्षमा गण्डकी प्रदेश प्रमुख शेरचनको चियापान

पोखरा, १ वैशाख
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ वर्ष २०७८ का अवसरमा बुधबार भेटघाट, शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ ।
चियापानका अवसरमा सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेशमा राष्ट्रिय राजनीतिको असर नपरोस् भन्ने आफूले चाहेको बताउनुभयो । आफू साझा व्यक्तित्व भएको भन्दै उहाँले गण्डकी प्रदेशलाई आफूले नमुना प्रदेशका रुपमा रहोस् भन्ने चाहेको समेत उल्लेख गर्नुभयो ।
राष्ट्रिय राजनीतिमा सहमति कायम हुन नसकेपनि गण्डकी प्रदेशमा सहमति र समझदारी कायम होस् भन्ने आफ्नो चाहना रहेको भनाइ व्यक्त गर्दै प्रदेश प्रमुख शेरचनले सहमतिलाई सबैको चाहना बनाउन सके गण्डकी प्रदेश साँच्चिकै नमुना प्रदेश बन्न सक्ने धारणा राख्नुभयो । आफूले दलहरूबीच समझदारी बनाउन सक्दो पहल गर्ने बताउँदै उहाँले नयाँ वर्षले सबैलाई एकताबद्ध भएर अघि बढ्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।


चियापान कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, उपसभामुख सिर्जना शर्माको उपस्थिति रहेको थियो । त्यस्तै, प्रतिनिधिसभा सदस्य दुर्गा विक, प्रदेशसभा सदस्यहरू, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, प्रदेश लोकसेवा आयोगका अध्यक्ष विष्णुप्रसाद नेपाल, सदस्य कल्पना लम्साल, विभिन्न मन्त्रालयका सचिवहरू, मुख्य न्यायाधिवक्ता डा. राजेन्द्र घिमिरे, पत्रकारलगायतको उपस्थिति रहेको प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो ।

Advertisment