महेन्द्र शिखरी माविमा नरबहादुर गुरुङ स्मृति अक्षयकोषको छात्रवृत्ति वितरण

पातीचौर (पर्वत), १२ चैत्र
मिलन ट्रष्टकी संरक्षक एवं समाजसेवी सावित्री गुरुङ सम्मानित हुनुभएको छ ।
पर्वतको मोदी गाउँपालिका–५, बाजुङस्थित महेन्द्र शिखरी माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा संरक्षक गुरुङ सम्मानित हुनुभएको हो । गुरुङसँगै कोभिड–१९ को कहरका बीचमा विद्यालयमा स्वयंसेवक शिक्षकका रुपमा योगदान दिएको भन्दै स्थानीय शिक्षक ताराखर अधिकारीलाई पनि सम्मान गरिएको थियो ।
सो अवसरमा समाजसेवी स्व. नरबहादुर गुरुङको स्मृतिमा स्थापित नरबहादुर गुरुङ स्मृति अक्षयकोषको ब्याजबाट कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई जनही ३ हजार रुपैयाँ छात्रवृत्ति समेत वितरण गरिएको थियो । मिलन ट्रष्ट तथा अक्षयकोषकी संरक्षक गुरुङले छात्रवृत्ति वितरण गर्नुभएको हो ।
आइतबार विद्यालयमा विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता, वत्वकला प्रतियोगिता, दौड प्रतियोगितालगायत विविध शैक्षिक कार्यक्रमको आयोजना गरि चैत ६ गते देखि ८ गतेसम्म त्रिदिवसीय कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बाल प्रतिभा समेत प्रस्फुटन गरिएको थियो ।
हाजिरी जवाफ प्रतियोगितामा कृष्ण आधारभूत विद्यालय प्रथम, सृजना आवासीय विद्यालय द्वितीय, सरस्वती मावि तृतीय भएका छन् । वकृत्वकला प्रतियोगितामा करिना पौडेल प्रथम, प्रतीक नेपाली दृितिय र सृजना पुन तृतीय हुनुभएको छ । त्यस्तै, कक्षा ११ र १२ को ५ सय मिटर दौडमा प्रतियोगितामा अनिल किसान प्रथम, सागर परियार द्वितीय र अनिल नेपाली तृतीय हुनुभएको छ । वार्षिकोत्सवको अवसरमा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यामप्रसाद पौडेलले विद्यालयको वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त कुँवरको अध्यक्षमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिक्षक लक्ष्मण शर्मा र कृष्णराज सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसनबहादुर क्षेत्री, वडाध्यक्ष दलबहादुर मल्ल, शिक्षा अधिकृत झकप्रसाद गौतम,स्थानीय बुद्धिजीवी ताराखर अधिकारी, अभिभावक कोकिलराज पौडेल, नेकपा (एमाले)का गण्डकी प्रदेश कमिटी सदस्य तेजबहादुर क्षेत्री, नेपाली कांग्रेसका जिल्ला सदस्य रामप्रसाद प्रसाईं, नेकपा (माओवादी केन्द्र)का गाउँ कमिटी सचिव अमर अधिकारी, मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का सञ्चालक समिति सदस्य संगीता आले, मिलन फाउण्डेशन नेपालका प्रचार संयोजक मणि गुरुङ, समाजसेवी शिव सिंजालीलगायतको उपस्थिति रहेको थियो ।
यसैबीच, महेन्द्र शिखरी माविको ६६ औं वार्षिकोत्सबको तथा अभिभावक भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर कुँवरले आफ्नो स्वर्गीय आमाको स्मृतिमा विद्यालयमा ३ लाख रुपैयाँको अक्षयकोषको स्थापना गर्ने घोषणा गर्नुभएको छ ।

Advertisment