शिक्षा क्षेत्रमा राजनीति गरिनु हुन्न ः गण्डकी प्रदेश प्रमुख शेरचन

कावासोती, ८ चैत्र
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले शिक्षा क्षेत्रमा दलीय राजनीति गर्न नहुने बताउनुभएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका वडा नं. १४, डण्डा, त्रिभुवनटारस्थित नवलपुर बहुमुखी क्याम्पसको छैठौं क्याम्पस सभा तथा १३ औं वार्षिकोत्सवलाई शनिबार सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले शिक्षाको विकासका लागि यो त्यो नभनिकन एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।


शिक्षा क्षेत्रमा आमूल परिवर्तन आवश्यक भएको भन्दै उहाँले अनुत्पादक शिक्षा प्रणालीले देशलाई समृद्धिको दिशामा लैजान नसक्ने धारणा राख्नुभयो । उत्पादन क्षेत्रमा काम लाग्ने खालको शिक्षा प्रणाली आवश्यक रहेको भन्दै प्रदेश प्रमुख शेरचनले समृद्ध नेपालको आकांक्षा पूरा गर्न शिक्षा क्षेत्रको विकास जरुरी रहेको बताउनुभयो ।
शिक्षा नीति व्यवहारिक नहुँदा देश विकास हुन नसक्ने बताउँदै उहाँले शिक्षा र स्वास्थ्य राज्यको प्राथमिक दायित्वभित्र पर्ने उल्लेख गर्नुभयो । देशलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न क्याम्पसलाई ध्यान दिन आग्रह गर्दै उहाँले नवलपुर बहुमुखी क्याम्पसलाई देशकै नमुना क्याम्पस बनाउन आन्तरिक एकतालाई बलियो बनाएर अघि बढ्न सुझाव दिनुभयो । प्रदेश प्रमुख शेरचनले शान्ति, स्थायित्व र राष्ट्रिय एकताले मात्रै समृद्धिको आकांक्षा पूरा हुने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछाने, नेकपा (माओवादी केन्द्र)का नेता मित्रशरण शर्मा “बिहानी”, नेपाली कांग्रेसका नेता बद्री नेपाल र नेकपा (एमाले)का नेता रमेश पौडेलले क्याम्पसमा राजनीति हुन नदिने र एकताबद्ध भएर क्याम्पसको शैक्षिक विकासका लागि अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष हेमराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख मुनादेवी लम्सालले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा स्नातक तहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई पुरस्कार एवं छात्रवृत्ति, हाजिरीजवाफ, भलिबललगायतका विभिन्न अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । त्यस्तै, क्याम्पसलाई आर्थिक सहयोग गर्ने सहयोगदाताहरूलाई समेत सम्मान गरिएको थियो । क्याम्पसमा हाल व्यवस्थापन र शिक्षा संकायमा अध्यापन हुँदै आएको छ ।

Advertisment