मिलन बहुउद्देश्यीय महिला समूहलाई समाजसेवी गुरुङको वाद्यवादन सामग्री सहयोग

पातीचौर (पर्वत), २८ फागुन
समाजसेवी दुर्गा गुरुङ “मिलन”ले मिलन बहुउद्देश्यीय महिला कृषक समूह, मोदी गाउँपालिका वडा नं. ५, बाजुङ, पर्वतलाई वाद्यवादन सामग्री सहयोग गर्नुभएको छ । विभिन्न शुभ कार्यमा भजनकीर्तन तथा नाचगानका लागि आवश्यक पर्ने वाद्यवादन सामग्री समाजसेवी गुरुङले महिला समूहलाई सहयोग गर्नुभएको हो ।


सो महिला कृषक समूहले महाशिवरात्री पर्वका अवसरमा ॐकारेश्वर शिव मन्दिरमा आयोजित विशेष कार्यक्रममा वाद्यवादन सामग्री हस्तान्तरण गरिएको हो । मिलन ट्रष्टकी संरक्षक सावित्रीकुमारी गुरुङले महिला कृषक समूहकी अध्यक्ष विष्णुमाया अधिकारीलाई वाद्यवादन सामग्री हस्तान्तरण गर्नुभयो । त्यस्तै, समाजसेवी गुरुङले शिव मन्दिरका पुजारी वृद्धनाथ योगीलाई पुजारी पोशाक समेत हस्तान्तरण गर्नुभएको छ ।
समूहका सल्लाहकार अमर अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा शिव मन्दिरलाई समूहको तर्फबाट आर्थिक सहयोग समेत हस्तान्तरण गरिएको थियो । सो शिव मन्दिरको पुनर्निर्माणको परिकल्पना एवं अगुवाइ समाजसेवी दुर्गा गुरुङ “मिलन”ले गर्नुभएको थियो । हालै गठन भएको महिला कृषक समूहले दुई सातासम्म सरसफाइ अभियान समेत सञ्चालन गरेको थियो ।

Advertisment