गण्डकी प्रदेश प्रमुखलाई प्रदेश नं. २ का प्रमुखद्वारा भ्रमणको निम्तो

पोखरा, २१ फागुन
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई प्रदेश नं. २ का नवनियुक्त प्रदेश प्रमुख डा. राजेश झा अहिराजले आफ्नो प्रदेशको भ्रमणको निम्तो दिनुभएको छ ।
प्रदेश प्रमुखमा नियुक्त भएपछि सात वटै प्रदेशको भ्रमणका शिलशिलामा पोखरा आउनुभएका प्रदेश प्रमुख डा. झाले शिष्टाचार भेट गर्दै गण्डकी प्रदेश प्रमुख शेरचनलाई भ्रमणको निम्तो दिनुभएको हो । शिष्टाचार भेटका क्रममा प्रदेश नं. २ का प्रमुख डा. झाले आफू प्रदेश प्रमुख शेरचनलाई जनकपुरमा स्वागत गर्न आतुर रहेको बताउनुभयो ।
प्रदेश प्रमुख डा. झालाई पोखरामा स्वागत गर्दै गण्डकी प्रदेश प्रमुख शेरचनले निम्तोका लागि धन्यवाद दिनुभयो । साथै, प्रदेश प्रमुख शेरचनले अनुकूल समय पारेर प्रदेश नं. २ को भ्रमणमा आउने जनाउँदै हालै मात्र प्रदेश प्रमुखमा नियुक्त हुनुभएका डा. झालाई सफल कार्यकालको शुभकामना समेत दिनुभयो ।
शिष्टाचार भेटका क्रममा प्रदेश प्रमुखद्वय शेरचन र डा. झाबीच दुई प्रदेशबीचको सम्बन्ध र समसामयिक अवस्थाबारे जानकारी आदानप्रदान भएको थियो । त्यस्तै, प्रदेश प्रमुख डा. झाले गण्डकी प्रदेश प्रमुख शेरचनलाई मायाको चिनो स्वरुप जानकी मन्दिरको तस्वीर हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश नं. २ का सचिव ध्रुव गैंडाले आफ्नो कार्यालयले गरेका कामबारे जानकारी प्रस्तुत गर्नुभएको थियो भने प्रदेश प्रमुखको कार्यालय, गण्डकी प्रदेशका सचिव हरि बाँस्तोलाले गण्डकी प्रदेशको बारेमा जानकारी गराउनुभएको थियो ।

Advertisment