मगर भाषाको खुल्ला कविता प्रतियोगितामा यात्री ऋतु पहिलो भइन्

दमौली, ९ फागुन
२२ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपाल मगर लेखक संघ, गण्डकी प्रदेशले आयोजना गरेको मगर भाषाको खुल्ला कविता प्रतियोगितामा आदिकवि भानुभक्त बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा यात्री ऋतु (रिसु थापा) प्रथम हुनुभएको छ ।
आइतबार आयोजित कविता प्रतियोगितामा नेपाल मगर विद्यार्थी संघ, तनहुँकी उपाध्यक्ष विनिता थापा द्वितीय, आदिकवि भानुभक्त बहुमुखी क्याम्पसकै छात्र नवीन थापा तृतीय र सत्यवती माविकी छात्रा प्रिती आले सान्त्वना हुनुभएको छ । प्रतियोगिताका बिजेताहरूले क्रमशः २ हजार, १ हजार ५ सय, १ हजार र ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
साथै, अन्तर्राष्ट्रिय मातृभाषा दिवसकै अवसरमा यसअघि, मगर भाषाका आदिकवि सु. रेखबहादुर सारूमगरको ७७ औं जन्मजयन्तीका अवसरमा घोषित पुरस्कार समेत वितरण गरिएको छ । कोभिड–१९ महामारीका कारण यसअघि, पुरस्कार प्रदान गर्न नसकिएको नेपाल मगर लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष धीरेन्द्र थापा “किसानी”ले जानकारी दिनुभयो ।
“आदिकवि सु. रेखबहादुर सारूमगर साहित्य पुरस्कार–२०७७”बाट पूर्व मन्त्री, संविधानसभा सदस्य एवं वरिष्ठ साहित्यकार शिवलाल थापा र “आदिकवि सु. रेखबहादुर सारूमगर साहित्य नवप्रतिभा पुरस्कार–२०७७”बाट रोल्पाका बेलबहादुर बुढा (युगान्त मगर)लाई नेपाल मगर लेखक संघका केन्द्रीय सचिव रूद्रबहादुर श्रीसमगर र संघका गण्डकी प्रदेश अध्यक्ष थापाले दोसल्ला, फेटा, नगद र सम्मानपत्रद्वारा सम्मान गर्नुभयो ।
सो अवसरमा बोल्दै सम्मानित व्यक्तित्व पूर्व मन्त्री थापाले आफ्नो प्राण रहुञ्जेल मातृभाषाको सेवामा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै, अर्का सम्मानित व्यक्तित्व बुढाले पुरस्कारले थप जिम्मेवारी महसुस गराएको उल्लेख गर्नुभयो ।
अध्यक्ष धीरेन्द्र थापा “किसानी”को अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ, तनहुँका अध्यक्ष मनिराज थापा, मगर गुठ समिति, दमौलीकी अध्यक्ष मीना थापा, नेपाल मगर लेखक संघ, तनहुँका अध्यक्ष बादल आलेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मगर आदिकवि सु. रेखबहादुर सारूमगर स्मृति तथा साहित्य प्रतिष्ठान, तनहुँका अध्यक्ष खड्क आलेले स्वागत मन्तव्य एवं सह–सचिव दीपक सिंजालीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Advertisment