सृजना विकास केन्द्रको रक्तदानमा ५९ युनिट रगत संकलन

पोखरा, ८ फागुन
७१ औं प्रजातन्त्र दिवसका अवसरमा सृजना विकास केन्द्र, पोखराले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा ५९ युनिट रगत संकलन भएको अध्यक्ष इन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।
शुक्रबार आयोजित रक्तदान कार्यक्रमको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापाले पहिलो रक्तदाता केन्द्रका प्रथम उपाध्यक्ष कृष्णबहादुर थापालाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै उपकुलपति प्रा.डा. थापाले स्वस्थ मानिसले रक्तदान गर्न सक्ने र रक्तदान अरु कसैका लागि जीवनदान बन्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष रूद्रनाथ बराल, केन्द्रका पूर्व अध्यक्ष सोमनाथ बराल, सृजना महिला बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष पवित्रा तिमिल्सिनाले रक्तदानजस्तो कार्यलाई सृजना विकास केन्द्रले निरन्तरता दिएकोमा खुशी व्यक्त गर्नुभएको थियो । त्यस्तै, सो अवसरमा क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्राविधिक अर्जुन ज्ञवालीले रक्तदानको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।
केन्द्रका अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव चन्द्र गिरी र प्रथम उपाध्यक्ष कृष्णबहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Advertisment