बाजुङ शैक्षिक प्रतिष्ठानलाई समाजसेवी सावित्री गुरुङको १ लाख ५० हजार सहयोग

पातीचौर (पर्वत), १० माघ
पर्वतको मोदी गाउँपालिका वडा नं. ५, बाजुङमा रहेको बाजुङ शैक्षिक प्रतिष्ठानको प्रथम साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको अवसर पारेर प्रतिष्ठानले बाजुङ जन्मभूमि भई हाल देशको विभिन्न स्थानमा उच्च ओहोदामा पुग्न सफल ८५ जना व्यक्तित्वहरूलाई सम्मान गरेको छ ।
अधिकृतस्तरदेखि माथि विद्यावारिधिसम्म गरि कुल ८५ जना बाजुङे विद्वान् छोराछोरीहरूलाई सो संस्थाले सम्मान गरेको हो । कार्यक्रममा बाजुङका अग्रज समाजसेवी एवम् मिलन ट्रष्ट–२०७४ का प्रमुख संरक्षक सावित्रीकुमारी गुरुङले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गुरुङले आफना पति स्व. नरबहादुर गुरुङको स्मृतिमा प्रतिष्ठानलाई १ लाख ५० हजार आर्थिक सहयोग गर्नुभएको छ । यसअघि पनि गुरुङको परिवार र मिलन फाउण्डेशन नेपालले बाजुङको बृहत्तर विकासको निम्ति थुप्रै आर्थिक सहयोग गर्दै आएको छ ।
कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व नेपाल सरकारका उप–सचिव बाबुराम सुवेदीले आफूले जीवनमा सिकेको सीप र अबको बाँकी श्रम जन्मभूमिको लागि खर्च गर्ने बताउनुभयो । बाजुङ शैक्षिक रुपमा उर्वर र भौगोलिक रुपमा पनि असाध्यै मिलेको रमाइलो ठाउँ रहेको भन्दै अब बाजुङबासीले आफनो भेगको कला संस्कृतिको पनि जगेर्ना गर्दै अघि बढनुपर्ने बताउनुभयो । बाजुङको विकासको लागि कसैले पनि राजनीति गर्न नहुने उहाँको भनाइ रहेको छ ।
सोही कार्यक्रममा प्रतिष्ठानले विभिन्न व्यक्तिहरूलाई आजीवन सदस्यता पनि वितरण गरेको छ । सो अवसरमा प्रतिष्ठानका सचिव अमरबहादुर अधिकारीले स्वागत मन्तव्यसहित संस्थाको आर्थिक प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष मनबहादुर क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम स्थानीय महेन्द्र शिखरी मा.वि.का शिक्षक लक्ष्मण शर्माले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्यसहित गीत, कविता आदि प्रतिभा प्रस्तुत गरेका थिए ।

Advertisment