देशले राजनैतिक स्थायित्व र समृद्धि चाहेको छ ः प्रदेश प्रमुख शेरचन

पोखरा, ३ माघ
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले देशले स्थायी शान्ति, राजनैतिक स्थायित्व र समृद्धि चाहेको बताउनुभएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले देशमा स्थायित्व भएमात्र समृद्धिको परिकल्पना पूरा हुने धारणा राख्नुभयो ।
प्रदेश प्रमुख शेरचनले सबै नागरिकको राष्ट्रिय एकताले मात्र राष्ट्रिय अखण्डताको रक्षा र विदेशी हस्तक्षेपलाई रोक्न सकिने बताउनुभयो । लोकसंस्कृति देशको धरोहर रहेको भन्दै उहाँले कलाकारले मनोरञ्जनका लागि मात्र नभइ विभिन्न समयमा जनतालाई सचेत बनाउन समेत गीत गाएको बताउनुभयो । गण्डकी प्रदेश नेपाली लोकसंगीतको उद्गम र उर्वर भूमि समेत रहेको भन्दै प्रदेश प्रमुख शेरचनले लोकगीतले देशमा मात्र नभइ विदेशमा समेत नेपालको पहिचान गराएको उल्लेख गर्नुभयो ।
दोहोरी गीत गाउनु सजिलो विषय नभएको भन्दै उहाँले दोहोरी कलाकारहरू अद्भूत प्रतिभाका धनी भएको धारणा व्यक्त गर्नुभयो । गायक, गायिका र कलाकारका समस्या समाधानका लागि आफूले सक्ने पहल गर्न तयार रहेको भन्दै प्रदेश प्रमुख शेरचनले आफ्नो अधिकारभित्र रहेर कलाकारका समस्यालाई राज्यको तर्फबाट सम्बोधन गराउन पहल गर्ने समेत आश्वासन दिनुभयो ।


कार्यक्रममा स्व. नरबहादुर परियार स्मृति पुरस्कारबाट वरिष्ठ लोकगायिका धनकुमारी थापा र स्व. तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार–२०७७ बाट नेपाल पत्रकार महासंघ, कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ सम्मानित हुनुभएको छ । गायिका थापा र पत्रकार श्रेष्ठलाई प्रदेश प्रमुख शेरचनले नगद, दोसल्ला ताम्रपत्रसहित सम्मान गर्नुभएको थियो ।
त्यसैगरी, कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गरी प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने प्रतिष्ठानका जिल्ला शाखा, कार्यसमितिका उत्कृष्ट सदस्य वर्ष पुरुष र वर्ष महिलालाई समेत सम्मान गरिएको थियो । त्यस्तै, उच्च शिक्षा हासिल गर्ने कलाकारहरूलाई पनि सो अवसरमा सम्मान गरिएको थियो । साथै, विभिन्न सामाजिक संघसंस्थाको पदाधिकारीमा निर्वाचित व्यक्तित्वहरूलाई कार्यक्रममा बधाई ज्ञापन गरिएको थियो ।


प्रतिष्ठान, गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष एवं संरक्षक पुरुषोत्तम न्यौपाने, प्रतिष्ठान, गण्डकीका सल्लाहकार प्राज्ञ हरिदेवी कोइराला, संरक्षक याम गुरुङ, प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहाल, नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइराला र सम्मानितका तर्फबाट नेपाल पत्रकार महासंघ, कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले लोकसंगीतको विकास र कलाकारको समस्या समाधानमा प्रतिष्ठानको भूमिकाका बारेमा आफ्नो भनाइ राख्नुभएको थियो ।
सो अवसरमा सम्मानित व्यक्तित्वहरूको परिचय प्रतिष्ठान, गण्डकीका संस्थापक अध्यक्ष शंकर विरही गुरुङले गराउनुभएको थियो भने वरिष्ठ उपाध्यक्ष पूर्ण परियारले स्वागत र सचिव राजन कार्कीले सञ्चालन गर्नुभएको थियो ।

Advertisment