मेरो भोगाइमा एउटी नारीको प्रतिविम्ब

–पुष्पा पुन
जन्म र मृत्यु बीचको प्राकृतिक अनि स्वर्णिम यात्रा हो, मानवीय जिन्दगी । जिन्दगीभित्रको अर्को जिन्दगी नारीको जिन्दगी, जो असन्तुलित, कृत्रिम काँडाभित्र सन्तुलित फूल बनी फक्रिन संघर्ष गरिरहेको हुन्छ ।
करोडौं प्राणीको यो ब्रह्माण्डमा एक मात्र विवेकशील प्राणी मानव भइ जन्मिन पाउँदा यो मनभरि असीमित खुशीका थुङ्गाहरू नदीझैं सलल बग्ने गर्छन् । तर, विवेकशील समूहभित्र नारीप्रतिको शिष्टता, सभ्यता र समानताको अंकुर पलाउन नसकेको बञ्जर जमिनजस्तो मानवीय मन देख्दा फेरि सन्त्रासका छिर्काहरू छिर्किने गर्छन् । किनकि, चमचमाउँदो र झिल्झिलाउँदो यो धर्तीमा पाइला टेक्न पाउँछु या लिङ्गका कारण भ्रुण हत्याको शिकार हुन्छु भनी आमाको गर्भमा पनि नारी असुरक्षित रहन्छे ।
जब त्रासलाई जितेर धर्तीमा आउँछे, घडी पलालाई लिएर तुच्छ बाँणहरू निस्किने गर्छन् । नारीको चमचमाउँदो आँखाले त्यो पनि पचाउन तयार हुन्छ । जब स्कुलमा पुग्छे, पठन पाठनलाई ढकमक्क फुलाएर पनि सिंगार्न सक्दिन । किनकि, सानो कोमल मस्तिष्कमा आफ्नै चाहना, आस्था, विचारसँगै स्वतन्त्र भविष्यको सुनौलो परिकल्पनासँगै चेतनाका बीजहरू ढकमक्क फुलाउने कोसिस गर्छे । छोरी मान्छेको जात धेरै बस्न हुँदैन, पराइ घर जानैपर्छ, आमा बाबाको नाक काटिएला जस्ता कुविचारहरूको काँडामा बास बस्न पुग्छे ।
उसको आँखामा प्रश्न आउँछ । के खुलेर जिउन खोज्नु पाप हो ? के विवाह गरेर मात्र बाबा आमाको इज्जत रहने हो ? छोरीजस्तै छोरा मान्छेको पनि उत्तिकै उत्तरदायित्व हुँदैन र ? तर, यो मौनतामा सलबलाएको जिज्ञासा पढ्ने क्षमता कोसँग हुन्छ र ? एउटै काम, कर्तव्यलाई एउटै ढाँचा शैलीले निभाउँदा पनि नारी र पुरुषलाई हेर्ने दृष्टिकोणलाई फरक तरिकाले जन्म गराइन्छ, यहाँ । यी यस्ता लैङ्गिक विभेदको शिकार हुनबाट कोही महिला पनि अछुतो रहन सकेका छैनन् यहाँ । फरक यति मात्र हो, तहगत हिसाबले फरकपन आउँछ मात्रै ।


सन् १९०९ देखि संयुक्त राज्य अमेरिकास्थित सोसलिष्ट पार्टीबाट समानताको खोजीमा उत्पन्न भएको महिला आवाज आज विश्वव्यापी रुपमा फैलिएको छ । तर, आज एक शताब्दीभन्दा बढी बितिसक्दा पनि परम्परागत रुपमा हस्तान्तरण हुँदै आएको असमानताको कालो धब्बा हट्न सकेको छैन । हो, आज आर्थिक, शैक्षिक क्षेत्रमा पहुँच होला । तर, सिंगो समानता र सुरक्षाको दृष्टिकोणबाट आज पनि एक स्त्रीले साइनो गाँस्न पाएकी छैन । आज पनि एउटी स्त्री जन्म घर होस् या कर्म घर होस् कहीँ पनि सुरक्षित छैन । बाहिर त टाढाको कुरा हो । हो, बौद्धिक रुपमा समानता भएतापनि प्राकृतिक रुपमा मानवीय शरीरमा उत्पादन हुने फरक–फरक हर्मोनका कारण नारी र पुरुषमा केही भिन्नता अवश्य हुन्छन् । महिलाको तुलनामा पुरुषहरू शारीरिक रुपमा केही बलिया हुन्छन् । जसमा स्त्रीको केही दोष छैन, त्यसैको फाइदा उठाउँछन् ।
बालिकादेखि वृद्धासम्मलाई बलात्कारको चपेटामा लपेट्दै रगताम्मे गर्ने र पुरुषार्थको श्वास फेर्ने पुरुषको कमी छैन, यहाँ । अनि जब आवाज उठ्छ, छोटो कपडा लगाउनु उसको गल्ती हो । छिः यस्तो शब्ददेखि घृणा लागेर आउँछ । अनि असन्तुलित प्रश्न उब्जिन्छ, यो मस्तिष्कमा ती पूर्वीय दर्शनप्रेमी कथित महानुभावहरूप्रति । के मृत्युको दिन कुरेकी साडी लुंगी लगाएकी ८० वर्षीया वृद्धाको कपडा छोटो थियो ? लुंगी कुर्थामा घाँस दाउरा गरेकी महिलाको कपडा छोटो थियो ? ७/८ वर्षीया नाबालिकालाई छोटो र लामो कपडाको ज्ञान छ ? अरु त, परै जाओस्, एउटी स्त्रीले जन्मजात प्राप्त गरेको सौन्दर्यलाई समेत लिएर बाँच्न पाउँदिन । समय–समयमा तिनै पुरुषहरूले तेजाब (एसिड)को सिंगार थपिदिन्छन्, यहाँ । त्यति मात्र कहाँ हो र ? महिलालाई जनावरसरह तस्करी गर्न समेत तम्सिन्छन् ।


खोइ यो समाजले आफूजस्तै मानवलाई मानवताको अनुभूति दिने जो निःशुल्क पाइने समानताको टुक्रा दिने दिन आऊला या नआऊला ? हुन त, वर्तमान परिप्रेक्ष्यमा गाउँसभादेखि राष्ट्रियसभासम्म महिलालाई निर्वाचित हुने निश्चित प्रावधान राखिएको छ । यसले मात्र कुसंस्कारले उठाएको अचेतनाको पर्खाललाई तोड्न सक्दैन, जबसम्म वैचारिक र व्यवहारिक रुपमा समानताको वृक्षारोपण गरिँदैन । कहिलेकाहीँ प्रश्न उठ्छ ? कहीँ ती महिलाको स्थानहरू चित्रमा मात्र सीमित त छैन ? ती निर्णयका कलमहरूमा पुरुषको आक्रमण त छैन ? यदि हो भने भावी सन्ततिको इतिहास आज हो र ? आजका नारी आत्मनिर्भर हुनु भनेको भावी सन्ततिलाई आत्मनिर्भर बनाउनु हो । कहीँ यस्तो दिन नआओस् कि सरकारले सन् २०३० सम्म महिला आत्मनिर्भरताको सपना बोकी जुन स्थान प्रदान गरेको छ । उक्त अवसरको पहिचान नगर्नाले अवसर नगुम्ला भन्न पनि सकिँदैन । मुलुकको ऐन, कानून या नियमावली र संरचनागत परिवर्तनसँगै हरेक व्यक्तिको मस्तिष्कको संरचना पनि परिवर्तन गरी समानताको रेखामा ल्याउन आवश्यक छ । जसरी फूलको बुट्यानले भरिएको बगैंचामा फूल नफुलेसम्म आकर्षक देखिँदैन । त्यस्तै, पुरुष र महिला समानान्तर विन्दुमा नआएसम्म राष्ट्रको समृद्धि सम्भव छैन ।

Advertisment