राष्ट्रिय एकता अहिलेको आवश्यकता ः गण्डकी प्रदेश प्रमुख शेरचन

पोखरा, २८ पुस
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रिय एकता अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।
सृजना विकास केन्द्र, पोखरा–८, सिमलचौरको ४३ औं वार्षिक साधारणसभा तथा २१ औं अधिवेशनको मंगलबार उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले राष्ट्रिय एकता र सहमतिले मात्रै देशलाई समृद्धिको बाटोमा लैजान सकिने तर्क गर्नुभयो ।
देशमा विकसित अहिलेको घटनाक्रमले आफूलाई दुःखी तुल्याएको भन्दै उहाँले सबैलाई एकताबद्ध बनाएर जान सके मात्र राष्ट्रियताको रक्षा गर्न सकिने धारणा राख्नुभयो । एक अर्को प्रसंगमा उहाँले नेपालको गरिबीको प्रमुख दुश्मन भ्रष्टाचार र कमिसनतन्त्र रहेको बताउनुभयो । देशमा व्याप्त भ्रष्टाचार समाप्त पार्न कडा कानूनको आवश्यकता रहेको प्रदेश प्रमुख शेरचनको भनाइ थियो ।


कार्यक्रममा सृजना विकास केन्द्रका संस्थापक अध्यक्ष डम्बर केसी, नेपाल रेडक्रस सोसाइटी, कास्कीका सभापति डोलराज पाण्डे, राजनीतिज्ञ सोभियतबहादुर अधिकारी, पोखरा–८ का पूर्व वडाध्यक्ष वीरेन्द्रनारायण विजुक्छे, समाजसेवी परशुराम बराल र राष्ट्रिय मानवअधिकार आयोग, गण्डकी प्रदेशका प्रमुख चन्द्रकान्त चापागाईंले समाजमा सृजना विकास केन्द्रले पु¥याएको योगदानबारे चर्चा गर्नुभएको थियो ।
केन्द्रका निवर्तमान अध्यक्ष मीनप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष इन्द्रप्रसाद पौडेलले स्वागत र महासचिव राधिका रेग्मी तथा सचिव चन्द्र गिरीले सञ्चालन गर्नुभएको थियो । केन्द्रको साधारणसभाले महासचिव राधिका रेग्मी र कोषाध्यक्ष कमलादेवी गिरीद्वारा प्रस्तुत प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
यसैबीच, केन्द्रको अधिवेशनबाट इन्द्रप्रसाद पौडेल सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको छ । प्रथम उपाध्यक्षमा कृष्ण थापा, द्वितीय उपाध्यक्षमा कमलादेवी गिरी, महासचिवमा चन्द्र गिरी, सचिवमा विश्व श्रेष्ठ र कोषाध्यक्षमा कृष्णमान ठुसाजू चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा सुशील विजुक्छे, दानबहादुर गुरुङ र अशोक श्रेष्ठ रहनुभएको छ । अधिवेशन सम्पन्न गर्न वीरबहादुर अधिकारी संयोजक, राजु पौडेल र एकनारायण अर्याल सदस्य रहेको निर्वाचन समिति बनाइएको थियो ।

Advertisment