जनआदर्श विद्यालयका विद्यार्थीलाई मिलन फाउण्डेशनको न्यानो कपडा

पातीचौर (पर्वत), २४ पुस
पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, बाउसेस्थित जनआदर्श आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक तथा व्यवस्थापन समितिका पदाधिकारीलाई मिलन फाउण्डेशन नेपालले जाडो यामको पोशाक वितरण गरेको छ ।
बिहीबार आयोजित पोशाक वितरण कार्यक्रममा मिलन ट्रष्टकी संरक्षक, समाजसेवी सावित्रीकुमारी गुरुङ र फाउण्डेशनका संरक्षक दुर्गा गुरुङ “मिलन”को प्रायोजनमा मिलन फाउण्डेशन नेपालमार्फत् विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोशाकसँग मिल्ने एक/एक सेट न्यानो कपडा वितरण गरिएको हो । सो अवसरमा समाजसेवी सावित्री गुरुङले पोशाक वितरण गर्नुभएको थियो ।


कार्यक्रममा बोल्दै फाउण्डेशनकी कार्यवाहक अध्यक्ष देवी गुरुङले फाउण्डेशनले शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा सक्दो सहयोग गर्दै आएको बताउनुभयो । फाउण्डेशनका संरक्षक दुर्गा गुरुङ “मिलन”को आर्थिक सहयोगमा फाउण्डेशनले देशका विभिन्न ठाउँमा सामाजिक कार्य गर्दै आएको बताउँदै भविष्यका कर्णधार विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षत्रीले अहिले समाजमा समाजसेवाको भावना ह्रास हुँदै गएको बेलामा मिलन फाउण्डेशन नेपालले गरेको सामाजिक कार्य प्रशंसनीय रहेको बताउनुभयो । आफूले विदेशमा रगत, पसिना बगाएर कमाएको पैसा समाजसेवामा लगाउनु उदाहरणीय कार्य भएको बताउँदै क्षत्रीले समाजसेवी दुर्गा गुरुङ “मिलन”ले आफ्नो जन्मभूमिका लागि गरेको सहयोग अतुलनीय रहेको उल्लेख गर्नुभयो ।


गण्डकी प्रदेश प्रमुख अमिक शेरचनका प्रेस संयोजक रूद्रबहादुर श्रीसले समाजसेवा र दुर्गा गुरुङ “मिलन” एउटा पर्यायवाची जस्तो बनिसकेको उल्लेख गर्नुभयो । समाजसेवालाई आफ्नो अभिन्न पाटोका रुपमा गुरुङले निरन्तरता दिएको भन्दै प्रेस संयोजक श्रीसले फाउण्डेशनमार्फत् शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको उत्थानसँगै गीतसंगीत र चलचित्रमार्फत् स्थानीय कला, संस्कृति एवं जन्मभूमिको उजागर गर्न समाजसेवी गुरुङले उदाहरणीय भूमिका खेलेको बताउनुभयो ।
सो अवसरमा मोदी गाउँपालिका वडा नं. ५ का जनप्रतिनिधि इन्द्रप्रसाद उपाध्यायले समाजमा केही गर्नुपर्छ भन्ने सोंच राख्ने समाजसेवी दुर्गा गुरुङ “मिलन” मनकारी व्यक्तित्व भएको बताउनुभयो । फाउण्डेशनका सचिव खडकबहादुर गुरुङ “मदन”ले फाउण्डेशनको उद्देश्य र कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मदत्त शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक लक्ष्मण शर्मा र प्रधानाध्यापक विष्णुप्रसाद सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । यसैबीच, कार्यक्रममा बाजुङका भलिबल खेलाडीहरूका लागि समेत आर्थिक सहयोग गरिएको थियो ।
फाउण्डेशनले यसअघि, पनि मोदी गाउँपालिकाको पातीचौरस्थित पशुपति आधारभूत विद्यालयमा न्यानो पोशाक वितरण गरेको थियो । त्यस्तै, फाउण्डेशनले कुश्मा नगरपालिका–१२, ठूलीपोखरीस्थित कालिका भगवती मन्दिरलाई फलामे कुर्ची समेत सहयोग गरेको थियो । २०७१ सालमा स्थापना भएको यस फाउण्डेशनले संरक्षक दुर्गा गुरुङ “मिलन”को आफ्नै व्यक्तिगत र परिवारका सदस्यहरूको कमाइबाट हरेक वर्ष विभिन्न सहयोग गर्दै आएको छ ।

Advertisment