पल्सर स्पोर्टस् अवार्डको मनोनयनमा महिला भलिबलकी कप्तान अरुणा शाही

पोखरा, ३ पुस
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ)ले हरेक वर्ष प्रदान गर्दै आएको पल्सर स्पोर्टस् अवार्डको लागि पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ ।
मञ्चले शुक्रबार एक कार्यक्रम आयोजना गरी पुस २८ गते आयोजना हुने १७ औं संस्करणको अवार्डका लागि पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरेको हो ।
जसमा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा चार स्वर्ण जितेकी पौडीकी गौरिका सिंह र २ स्वर्ण जितेका करातेका मन्डेकाजी श्रेष्ठसहित ५ खेलाडी छन् । त्यस्तै, मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी अरुणा शाही र बास्केटबलकी सदिना श्रेष्ठ छन् । भण्डारी, शाही र श्रेष्ठले १३ औं सागमा रजत जितेका थिए ।
अरुणाको कप्तानीमा महिला भलिबल टिम र सदिनाको कप्तानीमा महिला बास्केटबल टिमले सागमा जितेको रजतको उपाधि अहिलेसम्मको उच्च हो । अरुणाको कप्तानीमा नेपालले गत वर्ष एभिसी सेन्ट्रल जोनमा उपाधि जितेको थियो । पल्सर स्पोर्टस् अवार्डमा कूल १० विधामा अवार्ड वितरण हुनेछ । मनोनयनमा परेका खेलाडीलाई ईसेवाबाट पनि भोट गर्न सकिने नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ ।
ईसेवामार्फत भोटिङ, फेसबुक लाइक, मञ्चका सदस्य पत्रकारको मत र राष्ट्रिय संघका मुख्य प्रशिक्षकहरुको मतका आधारमा उत्कृष्ट खेलाडी छनोट हुनेछ । शुक्रबार बेलुका ६ बजेदेखि पुस २७ गते राति १२ बजेसम्म मत दिन सकिने मञ्चले जनाएको छ । यसअघि, एसएमएसबाट मत लिने गरिए पनि यस वर्ष ईसेवाबाट मत लिने व्यवस्था गरिएको हो । खेलाडीले ईसेवाबाट पाएको मतको भार ५० प्रतिशत र मञ्चका पत्रकार र प्रशिक्षकहरूको मतको भार २५÷२५ प्रतिशत रहनेछ ।
मनोनयनमा परेकी राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले आफ्नो मनोनयनले आफू उत्साहित भएको बताउँदै सबैको मायाले आफू अवार्डका लागि अब्बल ठहरिने विश्वास व्यक्त गरिन् । खेलप्रेमीहरूको साथले आफू यहाँसम्म आएको बताउँदै उनले यसपालीको अवार्डमा पनि जिताउन आग्रह गरिन् । महिला भलिबल टिमको कप्तान भइरहँदा आफूले पाएको माया फेरि पनि पाउनेमा उनी पूर्ण विश्वस्त छिन् । अवार्डले खेल क्षेत्रमा अघि बढ्न थप हौसला मिल्ने उनको भनाइ छ ।

Advertisment