कालिका मन्दिरलाई मिलन फाउण्डेशनको फलामे कुर्सी सहयोग

कुश्मा, १ पुस
मिलन फाउण्डेशन नेपालको सहयोगमा पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा रहेको प्रसिद्ध धार्मिक क्षेत्र कालिका मन्दिरमा आराम कूर्सी वितरण गरिएको छ ।
मन्दिरमा आउने श्रद्धालु दर्शनार्थीहरुलाई आराम गर्न सहज होस् भन्ने उद्देश्यका साथ संस्थाले करिब ५० हजार बराबरको ६ थान फलामे कूर्सी प्रदान गरेको हो । शनिबार एक कार्यक्रमका बीच समाजसेवी धनमाया गुरुङले मन्दिरका अध्यक्ष गणेश पौडेल, कु.न.पा. १२ का वडा अध्यक्ष राजेन्द्र पौडेल तथा मन्दिरका पदाधिकारीहरुलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै मिलन फाउण्डेशन नेपालका कार्यवाहक अध्यक्ष देवी गुरुङले मिलन फाउण्डेशन नेपालले सामाजिक क्षेत्रमा अतुलनीय योगदान गनेको बताउँदै आगामी दिनमा समेत समाजिक क्षेत्रमा लाग्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका १२ ठूलीपोखरीका अध्यक्ष राजेन्द्र पौडेलले संस्थाले निस्वार्थ गरेको सामाजिक कार्यको प्रशंसा गर्दै आगामी दिनमा समेत यस्तै कार्यहरुको निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा मिलन फाउण्डेशन नेपालका सचिव खड्क गुरुङ ‘मदन’, जयप्रकाश गुरुङ, बिजय गुरुङ मन्दिरका सदस्य युगनाथ पौडेल, गंगा शर्मा, हरिप्रसाद लामिछाने, धर्म लामिछाने, टंक प्रसाद लामिछाने लगायतको सहभागिता रहेको थियो ।
वडा अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मन्दिरका अध्यक्ष गणेश पौडेलले गर्नुभएको थियो । हङकङमा रहेका संरक्षक एवं संस्थापक दुर्गा गुरुङ ‘मिलन’को आफ्नै सहयोगमा सञ्चालित मिलन फाउण्डेशन नेपालले पर्वत, पाल्पा, लमजुङ, कास्की, चितवनलगायतका विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा विभिन्न किसिमका सहयोग गर्दै आएको छ ।

Advertisment