होटल तालिम प्रदायक संघको अध्यक्षमा राना सर्वसम्मत

पोखरा, १९ मंसिर
होटल तालिम प्रदायक संघ नेपालको प्रथम साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा हिमालयन कलेज अफ हस्पिटालिटी म्यानेजमेन्टका प्रबन्ध निर्देशक ज्ञानबहादुर राना सर्वसम्मत चयन हुनुभएको छ ।
शुक्रबार पोखराको पर्यटकीयस्थल काहुँडाँडामा भएको संघको प्रथम अधिवेशनबाट रानाको अध्यक्षतामा २ जना सदस्य पछि थप गर्ने गरी ९ जनाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
अधिवेशनबाट समितिको उपाध्यक्षमा शेरसिंह गुरुङ, सचिवमा सम्मरबहादुर थापामगर, सह–सचिवमा दीपेन्द्र अधिकारी र कोषाध्यक्षमा महेश श्रेष्ठ चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा राजेन्द्र गुरुङ र दिनेश कुँवर चयन हुनुभएको छ । विजय पौडेलको संयोजकत्वमा मोती श्रेष्ठ र मुकेश गुरुङ सदस्य रहनुभएको निर्वाचन मण्डलले नयाँ कार्यसमिति चयन गराएको हो ।
समितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिँदै पोखरा महानगरपालिका वडा नम्बर ११ का वडा सदस्य मीन गुरुङले संस्थाको सहयोगमा बेरोजगारी युवायुवतीहरूले आत्मनिर्भर हुने अवसर पाउने विश्वास व्यक्त गर्नुभएको थियो । आवश्यक परेको अवस्थामा महानगरले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । साधारणसभाले सचिव सम्मरबहादुर थापामगरले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सुझावसहित सर्वसम्मतिले पारित गरेको छ ।

Advertisment